नेपाललाई विदेशी विद्यार्थीको शैक्षिक हब बनाउन फेकनको माग

काठमाडौं । स्वतन्त्र शैक्षिक परामर्श संघ (फेकन) ले नेपाललाई विदेशी विद्यार्थीको शैक्षिक हब बनाउने गरी वातारण सृजना गर्न सरकारसँग माग गरेको छ । १३ औं बार्षिक साधारणसभाको पूर्वसन्ध्यामा काठमाडौंमा बुधवार पत्रकार सम्मेलन गरी फेकनले नेपाल धार्मिक, सांस्कृतिक, भाषिक, जातिय हिसाबले विविधतायुक्त भएकाले नेपाल विश्वकै लागि महत्वपूर्ण शैक्षिक हब भएको भन्दै फेकनले यसतर्फ ध्यानाकर्षण गराएको हो ।

खासगरी पछिल्लो समय केही विश्वविद्यालयले विदेशी विद्यार्थीलाई लक्षित गरेर बौद्ध शिक्षा लगायतका विषयमा पठनपाठनका लागि प्रयास गरेपनि नेपालको अव्यवस्थित नीतिले असहज भएको ठहर फेकनले गरेको गर्दै आएको छ ।

फेकनका अध्यक्ष राजु निरौलाले विदेशी विद्यार्थीलाई नेपालमा पढ्ने भिसा सहज नहुनु प्रमुख समस्या भएको भन्दै विदेशी विद्यार्थीका लागि सहज भिसाको व्यवस्था गर्ने नीतिगत व्यवस्था गर्न सरकारसँग माग गर्नुभयो । उहाँले भन्नुभयो ‘‘नेपालमा भिजिट भिसामा आउनुपर्ने बाध्यता छ, सरकारको नेपालमा विदेशी विद्यार्थी भित्र्याएर आर्थिक सम्पन्ताको बाटो समाउनेतर्फ ध्यान गएको छैन, जबकी नेपालबाट विदेश अध्ययन जाने विद्यार्थीले सम्बन्धित मुलुकको आर्थिक बृद्धिमा ठूलो टेवा पुर्याएका छन्’’ । कार्यक्रममा महासचिव छविन्द्र ओझाले नेपाललाई विदेशी विद्यार्थीको केन्द्र बनाउनका लागि आवश्यक नीतिगत व्यवस्था गर्न पटक–पटक दबाब दिएपनि तद्अनुरूपको उपलब्धि हुन नसकेको बताउनुभयो ।

डेढ दशक अघि स्थापना भएको फेकनले शिक्षा क्षेत्रमा परामर्श दिने र विदेश अध्ययन गर्न जाने विद्यार्थीहरूलाई सहजीकरण गर्दै आएको छ ।

 

तपाईको प्रतिक्रिया