यस्तो छ सारमा अगामी आर्थिक बर्षको बजेट

काठमाडौं । सरकारले आगामी आर्थिक वर्षको लागि १९ खर्ब ६४ अब ११ करोडको बजेट सार्वजनिक गरेको छ । अगामी आर्थिक वर्षको बजेटमा सरकारी कर्मचारी तलब बढ्ने अपेक्षा गरिएपनि सरकारले स्रोत माथि दबाब बढेको भन्दै कर्मचारी तलब नबढाई महँगी भत्ता २ हजार बाट बढाएर ५ हजार पुर्याएको छ । निकै चर्चामा रहेको विद्युतिय सवारीको कर बढ्ने हल्ला पनि गलत सावित भएको छ । सरकारले आगामी आर्थिक बर्षका लागि विद्युतिय सवारीको कर यथावत नै राखेको छ ।

सरकारले सूर्तीजन्य पदार्थमा भने कर बृद्धि गरेको छ । सरकारले यसवर्ष खेलकूद क्षेत्रको बजेट दोब्बरले बढाएर ६ अर्ब ८ करोड पुर्याएको छ । चालु आर्थिक वर्षमा खेलकूद क्षेत्रमा ३ अर्ब ५० करोड बजेट विनियोजन गरिएको थियो । भौतिक पूर्वाधार मन्त्रालयको लागि डेड खर्ब बजेट विनियोजन गरिएको छ ।

साथै अगामी आर्थिक बर्षको लागि ४ हजार ६ सय आयोजना कटौती गरिएका छन् । नेपाल वायु सेवा निगमलाई सार्वजनिक कम्पनीमा रूपान्तरण गरिने योजना बजेटमार्फत घोषणा भएको छ । नेपाल टेलिकमको ३० प्रतिशत शेयर सर्वसाधरणालाई दिने घोषणा बजेट मार्फत गरिएको छ ।

वीर अस्पतालाई सुधार गरी अन्तर्राष्ट्रिय स्तरको बनाउने घोषणा भएको छ भने रोबटिक प्रविधिबाट स्वास्थ्य उपचार हुने घोषणा सरकारले गरेको छ । स्वास्थ्य बीमाका लागि सरकारले १० अर्ब बजेट विनियोजन गरेको छ । साथै सबै प्रकारका सामाजिक सुरक्षाका लागि १ खर्ब बढि रकम विनियोजन गरिएको छ ।

जडबुटी कम्पनीलाई चालु आर्थिक बर्षमा २० करोड दिने भएको छ । सरकारले बृद्ध भत्ता पाउने उमेर बढाएर ७० बर्ष पुर्याएको छ । हालसम्म बृद्ध भत्ता पाउने उमेर ६८ बर्ष रहेको छ ।

त्यस्तै सरकारले अगामी बर्षदेखि सूचना प्रविधि क्षेत्रलाई आयकरमा छूट दिने भएको छ । बजेट मार्फत सार्वजनिक संस्थाको खर्चमा विदेश जान रोक लगाइएको छ । बजेट मार्फत फलफूल तरकारीमा अनिवार्य विषादी परीक्षण गर्ने घोषणा गरिएको छ । सरकारले अगामी आर्थिक बर्षदेखि प्रदेशबाट चालक अनुमतिपत्र दिने घोषणा गरेको छ ।

तपाईको प्रतिक्रिया