काठमाडौं- । नेपाली कांग्रेसको १४औं महाधिवेशनमा कांग्रेस नेता मीन विश्वकर्माले सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका छन् ।
आज (बिहीबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गर्दै नेता विश्वकर्माले दलित तर्फबाट सह–महामन्त्री पदमा उम्मेदवारी घोषणा गरेका हुन् । उनले सभापति शेरबहादुर देउवाको प्यानलबाट उम्मेदवारी दिने स्पष्ट पारे । पदाधिकारी नहुँदा र निर्णय गर्न गाह्रो हुने भएकोले आफ्नो मुद्दाहरु उठाउन गाह्रो भएको सुनाउँदै यसपटक आफूले सहमहामन्त्रीमा उम्मेदवारी दिन लागेको उनको भनाई छ ।
स्वदेश र विदेशमा रहेका युवाहरुलाई दोहोरो नागरिकता हुनुपर्ने आफ्नो मुद्दा भएको उनले बताए । आफ्ना नेपाली नागरिकहरुले अन्य देशमा गएर कमाएर ल्याएमा देश समृद्ध हुने उनको भनाई थियो ।
उनले समग्र देशको हितको लागि नेपाली कांगेसका सभापति शेरबहादुर देउवालाई जिताउनुपर्ने अहिलेको आवश्यकता रहेको पनि औंल्याए । नेपालको आर्थिक–सामाजिक रुपान्तरणका नायक देउवा भएको उनको भनाई थियो । देउवा पराजित भएमा मुलुकको राजनीतिको नेतृत्व पनि बदल्नुपर्ने भन्दै मुलुकको राजनीति बदल्नुपरेमा मुलुक अस्थिरतातिर जाने उनले जिकिर गरे । नेतृत्व परिवर्तन भएमा सरकार बदलिने र सरकार बदलिएमा निवार्चन अनिश्चित् हुने उनले धारणा राखे । निर्वाचन अनिश्चित् भएमा व्यवस्था नै अनिश्चित् हुने उनको भनाई थियो ।
दलितको ८ प्रतिशत सहभागिता हुनुपर्नेमा कांग्रेसमा जम्मा ५ प्रतिशत मात्र भएको उल्लेख गर्दै आफु सह–महामन्त्रीमा निर्वाचित भए ८ प्रतिशत सहभागिता पुर्याउन जोड दिनेपनि प्रतिबद्धता गरे ।
‘नेपाली कांग्रेसका सभापति देउवालाई जिताइदिनुहोस्, नेपालका आर्थिक–सामाजिक रुपान्तरणका नायक नै शेरबहादुर देउवा हुन् । अहिले सिंगो नेपालको राजनीतिको नेतृत्व गर्नुभएको छ । काग्रेसको नेतृत्व देउवाले गर्नुभएको छ । यदि कांग्रेसको नेतृत्व बदलिएमा मुलुकको राजनीतिको नेतृत्व बदल्नुपर्छ ।’–नेता विश्वकर्माले भने,‘राजनीति बदल्नुपरेमा मुलुकको राजनीति नै बदल्नुपर्छ । मुलुकको राजनीति बदल्नुपरेमा मुलुक राजनीतिक अस्थिरतातिर जान्छ र सरकार बदलिन्छ । सरकार बदलिएमा निवार्चन अनिश्चित् हुन्छ । निर्वाचन अनिश्चित् भएमा व्यवस्था नै अनिश्चित् हुन्छ ।’
‘जमिन जोत्नेको हुन्छ, घर पोत्नेको हुन्छ’ भन्दै आर्थिक क्रान्तिको लागि आर्थिक–सामाजिक क्रान्तिको नारा लगाएर १०४ वर्षको राणा शासनलाई जम्मा ३ महिनाको सशस्त्र क्रान्तिले थला पार्नसक्ने नेपाली कांग्रेस शक्तिशाली भएको बताउँदै उनले भने,‘कांग्रेसको कार्यकर्ता हुँ भन्दा आज मलाई निकै गर्व लाग्छ ।’
नेता विश्वकर्माले कांग्रेस समावेशी पार्टी भएको पनि उल्लेख गरे । उनले सबै समुहलाई सशक्त रुपमा अगाडि बढाउने कांग्रेसले दलित राष्ट्रिय आयोगको गठन गरेको पनि स्मरण गराए । उनले देउवाको प्यानलबाट केही साथीहरुले पनि केन्द्रीय सदस्यतामा उम्मेदवारी भोलि घोषणा गर्ने जनाए ।
बिमलेन्द्र निधिको सभापति पदको उम्मेदवारीको बारेमा उनले भने,‘पार्टी सभापति देउवाले निधिबाट पुग्ने क्षतिपुर्ति अन्यत्रबाट गर्ने व्यवस्था गरेकोले खासै ठुलो क्षति पुग्दैन् ।’
संविधानले प्रदान गरेको दलित, महिला आदिवासी–जनजाति, मधेसी, थारु, मुस्लिम, खस, आर्य, अपांग, अल्पसंख्यक वा पिछडिएको वर्ग र क्षेत्रको हकअधिकार यथाशिघ्र कार्यान्वयनमा आवश्यक पहल नेतृत्व नेपाली कांग्रेसले गर्नुपर्ने उनको मत रहेको छ। सदियौंदेखि जातिय, क्षेत्रिय तथा लैगिंक विभेदबाट पिल्सिएका जनसमुदाय समानताको मुद्दा समुदायको मुद्दामात्र नभएर सिंगो कांग्रेस पार्टीको राष्ट्रिय मुद्दा हुनुपर्ने भन्ने उनले अडान राखेका छन् ।





