चैत्र २९, काठमाडौँ- निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन नेपाल (प्याब्सन)ले सरकारलाई विद्यालय बन्द नगर्न आग्रह गरेको छ ।
प्याब्सनले आइतबार बिज्ञप्ती जारी गर्दै नेपालको भौगोलिक विविधता, आर्थिक तथा सामाजिक अवस्था, ईन्टरनेटको उपलब्धताको अभाव, शिक्षकहरुको प्राविधिक ज्ञानको कमीले गर्दा सामुदायिक तथा सार्वजनिक शिक्षालय लगायत निजि शिक्षालयका विधार्थीको ५०% पनि अनलाइन माध्यमबाट सिकाउन नसकिने विगतको अनुभवबाट प्रमाणित भएको भनेको छ ।
बिज्ञप्तीमा प्याब्सनले बालबालिकालाई संक्रमणबाट जोगाउन मास्कको प्रयोग, सेनिटाइजरको प्रयोग, भौतिक तथा सामाजिक दूरीको अवलम्बनका साथै स्वास्थ्य वर्धक खानपिन गराउने जस्ता कार्यहरुमा सहयोग पुर्याइदिन अभिभावकलाई अनुरोध गरेको छ ।
बिज्ञप्तीमा भनिएको छ, ‘आवश्यकताअनुसार शैक्षिक संस्थाहरुमा तातो पानी, स्वास्थ्यकर्मी, सेनिटाइजर, आइसोलेशन कक्ष, भौतिक दूरीको व्यवस्थापन गरी सम्बन्धित निकायको सहयोग र समन्वयमा काम गर्नु उपयुक्त हुन्छ ।’
साथै शिक्षालयमा काम गर्ने कर्मचारीहरु लाई कोभिड-१९ विरुद्द खोप तत्काल उपलब्ध गराउन सरकार संग माग गरेको छ ।
शनिबार सीसीएमसीले प्रमुख शहरका बिधालयहरु ३ हप्ता बन्द गर्ने सरकारलाई सिफारिस गरेको थियो ।