ललितपुरमा यस्तो छ चुनावी सरगर्मीः यसो भन्दैछन् मतदाता

उपत्यकाभित्रकै जिल्ला भए पनि कतिपय ग्रामीण क्षेत्र एकदमै विकट भएको ललितपुरबाट प्रदेशसभा सदस्यका लागि उम्मेदवार बनेकाहरूले आफ्नो प्राथमिकतामा ग्रामीण क्षेत्र नै परेको दाबी गर्छन् । तर, स्थानीय भने उम्मेदवार चुनाव जितेपछि गाउँ फर्किएलान् र विकास गर्लान् भन्नेमा विश्वस्त छैनन् । विभिन्न पार्टीबाट उम्मेदवार बनेकाले ग्रामीण जनताको मन जित्ने खालका योजना अघि सारेर भोट मागिरहेका छन् । उनीहरुसँग स्थानीयको माग यस्तो छ ः

डोल्मामाया तामाङ, प्रदेशसभा सदस्य समानुपातिक उम्मेदवार, बामगठबन्धन
‘पयर्टन क्षेत्रको रुपमा विकास गर्छु’
मेरो मुख्य एजेण्डामा सडक, स्वास्थ्य, कृषि र पर्यटन हो । ललितपुर जिल्लालाई धेरैले सहर भन्छन् तर यहाँको ग्रामिण क्षेत्र अति नै विकट छ । अब यो ठाउँलाई सुगम क्षेत्रको रुपमा चिनाउन हामी लागिपर्छौं । मैले चुनाव जितेपछि गाउँलेका सबै साझा समस्या समाधान गर्नेछु । मुलतः गाउँदेखि सहरसम्म सडक सञ्जाल विस्तार, टेलिफोन विस्तार, पर्यटन र कृषिको विकासलागयत काम गर्नेछु । दक्षिण ललितपुरका जनताका मुख्य समस्या हेरेर तीनलाई निराकरण गर्नेछु । युवा स्वरोजगार र महिला दिदीबहिनीहरुको लागि पनि सिपयुक्त कार्यक्रमहरु मैले सञ्चालन गर्छु । यसबाहेक दक्षिण ललितपुरलाई पर्यटन क्षेत्रको रुपमा विकास गर्नको निम्ति योजनाहरु तय गरी अघि बढ्नेछु । त्यस्तै, महिलका समस्यालाई राज्य समक्ष पु¥याउने जिम्मेवारी पनि मैले गर्नेछु । नीति निर्माण तहमा बसेर काम गर्नेलाई ललितपुरका समस्या देखाउने छु ।

श्याम तामाङ, सामाजिक अभियन्ता, बुखेल ललितपुर
‘हाम्रो होइन, राम्रोलाई भोट’
हामीले भोट हाल्ने नेताको लागि होइन हाम्रै लागि हो, त्यसैले भोली हाम्रो पक्षमा काम गर्न सक्ने नेतालाई भोट हालौं । दक्षिण ललितपुरका जनताले खानेपानी, बिजुली, स्वास्थ्य, सडक, शिक्षाजस्ता मुख्य आधारभुत आश्यकतामा सास्ती खेप्नु परेको छ । यी समस्यालाई केन्द्रमा राखेर काम गर्न सक्ने नेतालाई हामीले भोट दिनुपर्छ । विगतमा गफमात्रै गर्ने तर विकासको नाममा सिन्को समेत नभाच्ने नेतालाई हामीले कदापी भोट दिनुहुन्न । राजनीतिमा अझै पनि हाम्रो भन्ने चलन छ, अब हामीले हाम्रालाई होइन राम्रालाई जिताउनुपर्छ ।

हिरामाया घिसिङ, स्कुलडोल ललितपुर
‘क्षणिक प्रलोभनमा पार्ने नेतालाई भोट दिनुहुन्न’
विकास गर्छु भनेर धेरै नेताले झुक्याए । म यस्ता नेतालाई मत दिनु हामीलाई नै घाटा हो । जसले स्थानीयको पीर मर्का बुझ्छ र समस्या समाधान गर्न लायक सक्षम नेतालाई भोट दिनुपर्छ । क्षणिक प्रलोभनमा पार्ने नेतालाई भोट दिनुहुन्न । खोक्रा अजेण्डामात्रै बोकेर आउनेलाई कदावी भोट खेर फाल्नु हुन्न । आदिवासी जनजातीको हक अधिकारलाई सुनिश्चित गर्न सक्ने सक्षम व्यक्ति हामीलाई चाहिएको छ । दक्षिण ललितपुरका महिलाको जीवनस्तर धेरै नै पछाडि छ । हामी ठाउँले मात्रै होइन अवसरले पनि पछि परेका छौं । हाम्रा अधिकार दिलाउन राज्य समक्ष पहल गर्ने नेतालाई मेरो समर्थन छ ।

महेश लामा, नेता माओवादी केन्द्र, ललितपुर
‘सबैको हितमा काम गर्नेलाई जिताउनुपर्छ’
सबै वर्ग समुदायको पक्षमा काम गर्नेलाई हामीले जिताउनुपर्छ । धेरैजसो नेताहरु चुनावको बेलामात्रै जनताको घरदैलोमा पुग्छन् । त्यस्ता नेतालाई हामीले भोट दिनुहुन्न । अब भोट दिँदा संयम्ता अपनाएर सहि व्यक्तिलाई जिताउन आवश्यक छ । अहिलेसम्म आएका धेरे नेताले आसमात्रै देखाए तर काम गरेनन् । कम्तीमा बचन पूरा गर्न सक्ने व्यक्तिलाई भोट हाल्यौं भने हाम्रा दुःख कम हुँदै जान्छन् र देशको पनि विकास हुनसक्छ । यदी हामीले गलत व्यक्तिलाई जितायौं भने त्यसको हाम्रो निम्ति काम गर्नेछैन । उ निजी स्वार्थमा लाग्ने छ ।

शर्मिला बस्नेत,
‘श्रमजिवीको आवाज उठाउने भोट
यसअघि भोट हालेका धेरै नेताहरु झुक्याए । आफूले गरेका चुनावी बाचा पूरा गरेनन् । अब त्यस्ता नेतालाई भोट दिनुहुन्न । श्रमजिवीको आवाज उठाउने, सबैको अधिकारको सवालमा काम गर्ने नेतालाई भोट दिनुपर्छ । खाली जनता झुक्याउने, चुनाब आउदा मुसुक्क हास्ने, जितिसकेपछी गाउँमा मुख नदेखाउने व्यक्ति हामीले खोजेका हैनौं । जसले सबैलाई समटेर गाउँको विकास गर्न सक्छ त्यस्तो व्यक्ति हामीले रोज्नुपर्छ । यो पल्टको निर्वाचनमा कुर्सीको लागि लुछाचुडी गर्ने, भाषण मात्रै हाक्ने नेता र दललाई मत दिनुहुन्न । बहुमतिय सरकार, स्थिर सरकार, जनताको भावनालाई कदर गर्ने बामघटकलाई मेरो समर्थन पनि छ । मैले पार्टी हेरेर होइन व्यक्तिको क्षमता र विज्ञता हेरेर मतदान गर्छ ।

राजेन्द्र तामाङ, निर्वाचन परिचालन समिति ललितपुर क्षेत्र न. १ (क)
‘पीर–मर्का बुझ्नेलाई भोट’
आम युवाहरुको हितमा काम गर्ने र दक्षिण ललितपुरको विकास गर्ने नेतालाई जिताउनुपर्छ । अब झुटको खेती गर्ने र जनता छल्नेलाई लाई हामीले समर्थन गर्न हुन्न । दक्षिण ललितपुरका जनताले धेरै समस्या खेप्नुपरेको छ । ती समस्या समाधान गर्न सक्ने योग्य व्यक्तिलाई हामीले मत दिनुपर्छ । कसैले पनि आफ्नो भोटलाई खेर फाल्नु हुन्न । यदी सही र योग्य व्यक्ति छ भनेमात्रै भोट दिनुपर्छ । जो पैसाको भरमा चुनाव जित्ने पक्षमा छ त्यस्ता उम्मेदवारलाई हामीले जिताउनु हुन्न । अहिलेसम्म राजनीति गर्ने धेरैले जनतालाई आश्वासनमात्रै दिए तर काम गरेर देखाउन सकेनन् । नीति निर्माण तहमा जनताका पीर मर्का उठाउन सकेनन् त्यसैले सोच विचार गरेर मात्रै मतदान गरौं ।

 

 

 

तपाईको प्रतिक्रिया