विधागत पत्रकारिताको विकासका लागि अन्तरक्रिया थालियो

काठमाडौं–प्रेस काउन्सिल नेपालले नेपाली पत्रकारितामा भइरहेको विधागत पत्रकारितालाई व्यवस्थित गर्नुका साथै समाज तथा राष्ट्रको लागि आवश्यक पर्ने नयाँ विधा सृजना गर्ने उद्देश्यले ‘काउन्सिलसँग विधागत पत्रकारिता अन्तरक्रिया’ विषयक कार्यक्रम सम्पन्न गरेको छ ।
काउन्सिलले बिहिबार विधागत रुपमा पत्रकारिता गर्दै आएका संघसंस्थालाई बोलाएर विधागत पत्रकारिता गर्नुको पृष्ठभूमि, उद्देश्य, लक्ष्य तथा आगामी दिनमा यो पत्रकारिताको सम्भावना र चुनौतीका विषयमा समेत गहन छलफल गर्ने कार्यको प्रारम्भ गरेको छ । विभिन्न विधासाग सम्वद्ध संघसंस्थाका पदाधिकारी/प्रतिनिधिसँगको अन्तरक्रियामा बोल्नुहुँदै प्रेस काउन्सिल नेपालका अध्यक्ष बोर्णवहादुर कार्कीले विधागत क्षेत्रमा रहेका पत्रकारहरूको विद्यमान अवस्था, चुनौती र सम्भावनाको पहिचान गरी आवश्यक रणनीति तर्जुमा गर्न अन्तरक्रिया कार्यक्रम फलदायी हुने बताउनुभयो । अध्यक्ष कार्कीले सबै मिडियालाई व्यवस्थित, जिम्मेवार र जवाफदेही बनाउन अभिभावक संस्थाको नाताले प्रारम्भिक छलफलस्वरुप कार्यक्रम आयोजना गरिएकाले आगामी दिनमा विधागत क्षेत्रमा बनाउनुपर्ने नीति नियमका लागि अझ बढी सुझावहरू आउने अपेक्षा समेत राख्नुनुभयो ।
कार्यक्रममा विश्व प्रेस काउन्सिलका प्रथम उपाध्यक्ष किशोर श्रेष्ठ, प्रेस काउन्सिल नेपालका सदस्य तथा विधागत पत्रकारिता उपसमितिका संयोजक चेतनाथ धमला, सदस्यहरू इश्वरीप्रसाद ओझा, गोविन्दप्रसाद चौंलागाइँ, सदस्यसचिव बीरवहादुर राईले विधागत पत्रकारिताबारे धारणा राख्नुको साथै आवश्यक तालिम, राहतका कार्यक्रम ल्याउन पहल गर्ने बताउनु भयो ।
यसैगरी, नेपाल फोरम अफ साइन्स जर्नालिस्टका अध्यक्ष छत्र कार्की, लक्ष्मण डंगोल, वैदेशिक रोजगार पत्रकार समाजका अध्यक्ष निरञ्जन ज्ञवाली, नेपाल आर्थिक पत्रकार समाजका उपाध्यक्ष शिव बस्नेत, नेपाल लतितकला पत्रकार समाजका अध्यक्ष केशवराज खनाल, शिक्षा पत्रकार समूहका अध्यक्ष दिपक दाहाल, कृषि पत्रकार समाजका उपाध्यक्ष धनबहादुर मगर, नेपाल साहित्यिक पत्रकार संघका उपाध्यक्ष नवराज पुडासैनी, विकास पत्रकार मञ्चका सचिव चन्द्रमणि भट्टराई, नेपाल वातावरण पत्रकार समूहका उर्वसी बस्न्यात लगायतले महत्वपूर्ण धारणा राख्नुभएको थियो ।
अघोषित सिन्डिकेटको विकास भएको, उदेश्य अनुरुप कार्यक्रम संचालन गर्न नसकिएको, विधागत पत्रकारितामा बिशेज्ञता हाशिल गरेका व्यक्तिहरूको अभाव, तालिमको अभाव, नयाा नीति, समन्वयको अभाव लगायतका समस्याहरू रहेकोमा समन्वय गरेर अगाडि बढ्नुपर्नेमा सुझाव सहभागीहरूबाट आएको थियो ।

तपाईको प्रतिक्रिया