विपक्षीको धारणामा मधेशी मोर्चाको आपत्ति

काठमाडौं–संयुक्त लोकतान्त्रिक मधेसी मोर्चामा आवद्ध दलले संविधान संसोधन प्रस्तावविरुद्ध एमालेसहितका विपक्ष दलहरुले दिएको अभिव्यक्तिप्रति आपत्ति जनाएका छन् । मोर्चाका नेताहरुले संविधान संशोधन प्रस्ताव राष्ट्र हितमा नरहेको भन्ने एमाले सहितका विपक्ष दलहरुको अभिव्यक्ति मुलुकको राष्ट्रिय अखण्डता बिगार्ने गरी आएको भन्दै आक्रोश व्यक्त गरेका हुन् । काठमाडौको तीनकुनेस्थित संघीय समाजवादी फोरम नेपालको कार्यालयमा विहीबार बसेको मोर्चाको बैठकले राष्ट्रियताको नाममा विपक्षी दलहरुले राष्ट्रिय अखण्डता विरोधी गतिविधि गरिरहेको निष्कर्ष निकालेको हो ।

बैठकले संविधान संशोधन प्रस्ताव संशोधनसहित पारित गराउन सरकार लागि नपरेको भन्दै असन्तुष्टि पनि व्यक्त गरेको छ । बैठकपछि संघीय समाजवादी फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले संविधान संसोधन प्रस्तावविरुद्ध प्रतिपक्षी दलहरुले दिएका अभिव्यक्तिले मुलुकको अखण्डता र जातीय एकता कम्जोर हुने भन्दै आपत्ति जनाउनु भयो । उहाँले मधेसी, आदिबासी र अल्पसंख्यकका विरुद्धमा दिएका अभिव्यक्तिले मुलुकलाई प्रतिगमनतर्फ धकेल्ने जिकिर पनि गर्नुभयो ।

अध्यक्ष यादवले आफूहरु सडक आन्दोलनमा रहेका बेलामा संसदमा आएर छलफल गर्न आग्रह गर्ने दलहरु समस्या समाधानका लागि संविधान संसोधनको प्रस्ताव ल्याउँदा आफैं आन्दोलनमा जानु दुखद भएको टिप्पणी पनि गर्नुभयो । उहाँले प्रतिपक्षीले बिरोधका नाममा संसद बैठक अवरुद्ध गरेर संसदीय प्रक्रिया अलपत्र पार्न नहुने तर्क पनि गर्नुभयो ।

तपाईको प्रतिक्रिया