काठमाडौँ–कार्तिक । २० वर्ष पुराना झण्डै २० हजार भन्दा बढी सार्वजनिक सवारी फागुन महिनादेखि देशभरका सडकमा गुड्न नपाउने भएका छन् । यातायात व्यवस्था विभागले फागुनदेखि देशभरका सडकमा गुड्ने २० वर्ष आयु पुरा गरेका सार्वजनिक सवारीलाई प्रतिबन्द लगाउने निर्णयगरेको हो । यो निर्णयसँगै पुराना गाडीको रुट इजाजत बन्द गरिने भएको छ ।
विभागको साना तथा ठूला सवारी कार्यालयमा प्रमुखका रुपमा उप–सचिव बसन्त अधिकारी पुगेपछि पुराना गाडी प्रतिबन्ध लगाउने सरकारी प्रयास अब सफल हुने देखिएको छ । पुराना सवारीको नामसारी र विक्री वितरण रोक्ने तयारी गरेको विभागले यस्ता सवारी सडकमा गुडे ट्राफिक प्रहरी र विभागले कानुनअनुसार नियन्त्रणमा लिएर कारबाही गर्ने भएको छ ।
२० वर्षे सार्वजनिक सवारी देशभरबाटै विस्थापन गर्ने बारेको मन्त्रिपरिषद निर्णय २०७१ फागुन १८ गते राजपत्रमा प्रकाशित भएको थियो । यस्तै विभागले १५ वर्ष पुगेकाको नामसारी बन्द गर्ने तयारी पनि थालेको जनाएको छ ।