काठमाडौं–भदौ २६ । रुट परमिटलाई लिएर यातायात व्यवसायी र सरकारबीच विवाद बढेपछि यस वर्ष अग्रिम टिकट बुकिङमा ढिलाई भएको छ । दशैं सुरु हुनुभन्दा १ महिना अघि खोलिने अग्रिम टिकट बुकिङ यस वर्ष यातायात व्यवसायी र सरकारबीच समन्वयको अभावमा अझै खुल्न सकेको छैन ।
यात्रुको चाप दशैंमा बढ्ने भएकाले त्यसको व्यवस्थापनका लागि यातायात व्यवसायीहरुले यतिबेला अग्रिम टिकट बुकिङ खुला गर्थे । यातायात व्यवसायीहरु र यातायात व्यवस्था बिभागबीच रुट परमिटलाई लिएर विवाद चर्केपछि टिकट बुकिङका बिषयमा निर्णय हुन सकेको छैन ।
यता यातायात व्यवस्था बिभागले भने रुट परमिटका बिषयमा विवाद नरहेको स्पष्ट पारेको छ । केही दिन भित्रै अग्रिम टिकट बुकिङ खुला गर्ने विभागले जनाएको छ । पछिल्ला दिनमा सडक दुर्घटना बढ्दै गएपछि सरकारले रुट परमिट बिनाका सवारी साधन गुड्न नदिने र अस्थायी रुट परमिट दिएर मात्र सवारी साधन गुडाउन दिने निर्णय गरेको थियो । तर त्यो निर्णय केही ग्रामिण सडकमा बाहेक अन्य सडकमा लागु नभएको व्यवासयीको आरोप छ ।
ग्रामिण सडकको अस्थायी रुट परमिटको बिषय मात्रै नभएर मुख्य मुख्य सडकहरुको अवस्था पनि राम्रो नभएका कारण अग्रिम टिकट बुकिङ खुला गर्न गाह्रो भएको व्यवसायीको तर्क छ । यता यात्रु भने चाडपर्व मनाउन कसरी घर फर्कने भनेर चिन्तित बनेका छन । हरेक बर्ष दशै मनाउन २० लाख भन्दा बढि सर्वसारधाण राजधानी छाडेर जाने गरेका छन् ।