दाङ–भदौ १५ । दाङका विभिन्न अस्पतालमा भाइरल ज्वरोका बिरामी बढेका छन् । भाइरल ज्वरोका बिरामीमा खासगरी बालबालिका, महिला र ज्येष्ठ नागरिक बढी छन् । साउनको पहिलो साताबाट देखा पर्न थालेको भाइरल ज्वरोको संक्रमण अझै कम भएको छैन ।
राप्ती उपक्षेत्रीय अस्पतालमा मात्रै दैनिक तीन सयदेखि साढे तीन सयको संख्यामा बिरामी आउने गरेकोमा साउन यता दैनिक साढे चार सयको हाराहारीमा बिरामी आउने गरेका छन् । यसमा आधाभन्दा बढी भाइरल ज्वरोसँग सम्बन्धित भएको चिकित्सकहरूले बताएका छन् । भाइरल ज्वरोको प्रकोपका कारण अस्पतालमा चाप बढेपछि बिरामीहरूलाई भुर्इंमै राखेर उपचार गर्नुपर्ने अवस्था आएको चिकित्सकले बताएका छन् ।
अस्पताल प्रशासनका अनुसार राप्ती उपक्षेत्रीय अस्पतालमा साउन महिनामा मात्र ११ हजार ४ सय बिरामीले ओपीडी तथा इमरजेन्सीबाट सेवा लिएका छन् । यसैबीच, अञ्चल अस्पताल तुलसीपुरमा डाक्टरको लापरवाहीका कारण गर्भवतीको मृत्यु भएको भन्दै आफन्तले प्रदर्शन गरेका छन् ।