एजेन्सी–भदौ । आयोजक ब्राजिलले रियो ओलम्पिक खेलकुद प्रतियोगिताअन्तर्गत पुरुष फुटबलमा स्वर्ण पदक जितेको छ । जर्मनीलाई पेनाल्टी शुटआउटमा पाँच–चार गोलअन्तरले पराजित गर्दै ब्राजिलले फुटबलमा स्वर्ण पदक जितेको हो । जितसँगै ब्राजिलले सन् २०१४ मा भएको विश्वकप फुटबलको सेमिफाइनलमा भोगेको पराजयको बदलासमेत लिएको छ । खेलको २६ औं मिनेटमा ब्राजिलका कप्तान नेयमारले फ्री–किकबाट गोल गर्दै अग्रता दिलाएका थिए ।
पहिलो हाफमा एक–शून्य गोलअन्तरले पछि परेको जर्मनीले ५९ औं मिनेटमा गोल गर्दै खेल बराबरीमा पुर्याएको थियो । बाँकी समयमा दुवै टोलीबाट गोल हुन नसकेपछि खेल एक–एकको स्थितिमा सकिएको थियो । पेनाल्टी सुटआउटमा पाँच–चार गोलअन्तरले जित हात पार्दै आयोजक ब्राजिलले ३१ औं ग्रीष्मकालीन ओलम्पिक खेलकुद प्रतियोगिताको फुटबलमा स्वर्ण पदक जित्न सफल भएको छ । यता, महिला फुटबलको स्वर्ण पदक भने जर्मनीले जितेको छ ।