काठमाडौं–साउन २० । प्रचण्ड सरकारको पहिलो मन्त्रिपरिषद् बैठकले बाढीपहिरोमा परी निधन भएका परिवारलाई प्रतिपरिवार १ लाख रूपैयाँ राहत उपलब्ध गराउने निर्णय गरेको छ ।
सिंहदरबारमा बिहिबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले बाढीपीडितको पुन:स्थापनाको काम अघि बढाउन सम्बन्धित निकायलाई निर्देशन पनि दिएको छ । बैठकले सरकारको प्रवक्तामा तत्कालका लागि उपप्रधान तथा अर्थमन्त्री कृष्णबहादुर महरालाई नियुक्त गरेको छ । यस्तै, बैठकले विभिन्न देशले दिएको शुभकामना ग्रहण गर्ने निर्णय गरेको छ ।
यसअघि प्रचण्डले पदभार ग्रहण गरेलगत्तै विभिन्न चार निर्देशन दिनुभएको थियो । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा सचिवलाई प्रधानमन्त्री प्रचण्डले भूकम्पप्रभावित ३१ जिल्लाका ५ लाख ३३ हजार घर परिवारलाई अनुदानको पहिलो किस्ता ४५ दिनभित्रै उपलब्ध गराउन निर्देशन दिनुभएको छ । यस्तै, चिकित्सक नपुगेका दुर्गमका स्वास्थ्य केन्द्रमा तीन महिनाभित्र चिकित्सक पुर्याउन र सरकारी अस्पतालबाटै गुणस्तरीय औषधी उपलब्ध गराउने गरी जिल्ला र सो भन्दा माथिका सरकारी अस्पतालबाट औषधी उपलब्ध गराउन पनि निर्देशन दिनुभयो । गरिबका लागि सरकार विशेष अभियान सञ्चालन गर्न पनि प्रधानमन्त्री प्रचण्डको निर्देशन थियो ।
दलित र कर्णालीमा नवजात शिशुको जन्मदर्ता गर्नुपर्ने म्यादभित्रै जन्मदर्ता गराउनेलाई प्रोत्साहनस्वरुप १ हजार उपलब्ध गराउन निर्देशन दिनुभएका प्रधानमन्त्री प्रचण्डले मधेशी लगायत आन्दोलनरत पक्षको माग सम्बोधन र पुन:निर्माण कार्यलाई प्राथमिकता साथ बढाउने आश्वसन दिनुभएको थियो । दलीय सहमति र सहकार्यका आधारमा सरकार र आफू अघि बढ्ने प्रधानमन्त्री प्रचण्डको दाबी थियो ।