काठमाडौं–साउन २० । पुरातत्व विभागले भूकम्पले भत्काएका सम्पदालाई चरणबद्ध पुनर्निर्माण गर्ने योजना सहित काम अघि बढाएको छ । विभागले विश्व सम्पदा सूचीमा भएकालाई पहिलो प्राथमिकता र राष्ट्रिय स्तरका अन्य सम्पदालाई दोस्रो चरणमा निर्माण गर्ने योजना अघि सारेको हो । ४८ सम्पदा पुनर्निर्माणका लागि टेन्डर प्रक्रियासमेत सकिसकेको दाबी पुरातत्व विभागको दिएको छ ।
सम्पदाको पुननिर्माण टेण्डर प्रक्रिया सकेसागै अब विभागले थप ५२ वटा सम्पदाको टेण्डर प्रक्रिया अगाडी बढाएर सय सम्पदा पुननिर्माण गर्ने लक्ष्य राखेको छ । विभागले २३ सम्पदा पुनर्निर्माण गर्न भारतलाई अनुमति दिएको छ । भारतलाई अनुमति दिइएका सम्पदामा काठमाडौंका ११ सम्पदा र बाँकी उपत्यकाबाहिरका छन् । यसअघि चीन, श्रीलंका, अमेरिका, जर्मनीलगायतलाई पनि पुनर्निर्माणको अनुमति दिएको छ । पुरातत्व विभागका महानिर्देशक भेषनारायण दाहालका अनुसार वसन्तपुर दरबार क्षेत्र र नुवाकोटको ७ तले दरबार, त्यसवरिपरिका सम्पदा निर्माणको सम्झौता चीनसँग भइसकेको छ । यसको सम्पूर्ण खर्च चीन सरकारले बेहोर्नेछ, ।
हनुमान ढोकाको आगम घर र जगन्नाथ मन्दिर जापान सरकारले बनाइदिने सम्झौता गरिसकेको छ । स्विस सरकारले दोलखाको त्रिपुरासुन्दरी मन्दिर र साँखुको धर्मशाला बनाइदिने भएको छ । भक्तपुरको पुजारी मठ, त्यस वरपरका विद्यालय जर्मनीले बनाइदिने सम्झौता भएको छ । यसको सम्झौता भक्तपुर नगरपालिकासँग भइसकेको छ । स्वयम्भूको आनन्दकुटी महाविहार र बुङमतिको रातो मच्छिन्द्रनाथ मन्दिर श्रीलंका सरकारले बनाइदिने भएको छ । यसको विस्तृत अध्ययन, लागत सकिएर टेन्डरको कामसमेत पुरा भएको छ ।
विभागका अनुसार आनन्दकुटी विहार निर्माणका लागि २० करोड र मच्छिन्द्रनाथ मन्दिरका लागि ५ करोड रुपैयाँ लाग्ने छ । यो सबै रकम श्रीलंकाले बेहोर्नेछ । नेपालका वसन्तपुर दरबार क्षेत्र, पाटन दरबार क्षेत्र, भक्तपुर दरबार क्षेत्र, चाागुनारायण, बौद्धनाथ, स्वयम्भूनाथ लगायत सम्पदाहरु विश्वसम्पदा सूचीमा छन् । यी सम्पदा पुनर्निर्माण नगरे खतराको सूचीमा राख्ने युनेस्कोले बारम्बार चेतावनी दिदै आएको छ ।