काठमाडौं–साउन । विश्व नम्बर ३ टेनिस स्टार रोजर फेडेरर ब्राजिलमा हुने आसन्न रियो ओलम्पिकमा सहभागी नहुने भएका छन् ।
घुँडाको चोटका कारण फेडेरर ओलम्पिक र सन् २०१६ को पूरा सिजन कोर्ट बाहिर रहने भएका हुन् । गत फेब्रुअरीमा घुँडाको शल्यक्रिया गराएका फेडेररले मेमा भएको फ्रेन्च ओपन टेनिसबाट पनि नाम फिर्ता लिएका थिए । लामो खेल जीवनका लागि आफू स्वस्थ्य रहन जरुरी रहेको स्विट्जरल्याण्डका ३४ वर्षीय फेडेररले बताएका छन् । आसन्न रियो ओलम्पिकमा स्विट्जरल्याण्डको प्रतिनिधित्व गर्न नपाउँदा धेरै निराश भएको बताएका छन् ।
फेडेररले सन् २०१७ को सिजनमा आफू उत्कृष्ट लयमा रहँदै राम्रो टेनिस खेल्न सक्ने विश्वास व्यक्त गरेका छन् । सन् २००८ को बेजिङ ओलम्पिकमा युगल तर्फ स्वर्ण जितेका फेडेररले ओलम्पिकमा एकल तर्फ भने अहिलेसम्म स्वर्ण जित्न सकेका छैनन् ।