पाल्पा–असार । प्रसिद्ध धार्मिक तीर्थस्थल रुरु क्षेत्रमा तीन जिल्ला जोड्ने तीनमुखे पुल निर्माण अलपत्र भएपछि स्थानीयलाई आवत जावतमा समस्या भएको छ ।
नमुनाका रूपमा नेपालमै पहिलोपटक बन्न लागेको पाल्पा, गुल्मी र स्याङ्जा जोड्ने तीन मुखे पुलको शिलान्यास भएपनि निर्माण प्रक्रिया सुरु नहुँदा स्थानीय चिन्तित भएका हुन् । तामझामका साथ ७१ साल मंसिरमा तत्कालीन सांसद चन्द भण्डारी र तत्काली मुख्य सचिव लिलामणि पौडेलले शिलान्यास गरेको पुलको ठेकेदार महेन्द्र अधिकारीले ९ करोड रूपैयॉमा ठेक्का सम्झौता गरेपनि काम सुरु भएको छैन । स्थानीयले पटक–पटक ताकेता गरेपनि ठेकेदार पक्षले बेवास्ता गर्दै आएको आरोप लगाएका छन् ।
हालै रुरु क्षेत्र पुगेका उद्योगमन्त्री सोमप्रसाद पाण्डेले पुल निर्माणका लागि पहल गर्ने प्रतिबद्धता जनाउनुभएको छ । उहाँले साउनदेखि काम शुरु नगरे ठेकेदारलाई कालोसूचीमा राखेर कारबाही प्रकृया अगाडि बढाउने चेतावनी मन्त्री पाण्डेले दिएपछि पुल बन्ला कि भन्ने स्थानीयमा झिनो आसा पलाएको छ ।