बजेटमाथीको छलफल अझै जारी

Samsad-bhawan-1काठमाडौं–जेठ २० । आर्थिक वर्ष २०७३/७४ को राजस्व र व्ययको वार्षिक अनुमान (बजेट)माथिको छलफलमा आज पनि जारी छ । बैठकमा सहभागि विभिन्न दलका सांसदहरुले बजेटका सबल र दुर्बल पक्ष केलाएका छन् ।
मङ्गलबारदेखि व्यवस्थापिका–संसद्मा भइरहेको सामान्य छलफलमा बोल्दै प्रतिपक्षी दलका सांसदले बजेट राष्ट्रिय दस्तावेजका रुपमा नभई पार्टी विशेषको घोषणपत्र जसरी आएको भन्दै आलोचना गरेका छन् । प्रतिपक्षका सांसदहरुले बजेट उत्पादनमुखी हो कि विकासमुखी हो छुट्याउन नसकिने खालको भएको भन्दै कर्मचारीको तलब खुवाउनसमेत विदेशीसँग ऋण लिनुपर्ने अवस्था आएको टिप्पणी गरेका थिए ।

बजेट माथीको छलफलमा बोल्ने सत्तापक्षका सांसदले भने बजेटमा उत्पादन र रोजगारीका विविध कार्यक्रम आएको भन्दै तराई मधेस सहित सिंगो राष्ट्रलाई समृद्ध बनाउन बजेटले विभिन्न कार्यक्रम ल्याएको दाबी गरेका छन् । सत्ता साझेदार नेकपा माओवादी केन्द्रका सांसदले बजेटप्रति आलोचनात्मक समर्थन दिएका छन् । विगतमा आफ्नो पार्टीको नेतृत्वमा भएको सशस्त्र आन्दोलनको जगमा बजेट बनेको हुँदा यो जनमुखी र यथार्थमा आधारित भएको जिकिर माओवादी सांसदको छ । बजेट छलफलमा सांसद अमनलाल मोदी, जनक चौधरी, बहादुरसिंह लामा, रामहरि खतिवडा, गौरीशङ्कर चौधरी, मोहन बानियाँ, वैजनाथ चौधरी, हरिप्रसाद नेपाल, राममाया बोगटी, दीर्घराज भाट, रामचन्द्र पोख्रेल, सुरेन्द्र जैसवाल, गणेश ठगुन्ना, गुरुप्रसाद बुर्लाकोटी, राजाराम स्याङ्तान, भीष्मराज उपाध्याय, कृष्णभक्त पौडेल, लालबहादुर रावल, कमला घिमिरे, भवानी प्रसाद ठाकुरलगायतका सांसदहरुले आ–आफ्नो धारणा राखिसक्नुभएको छ ।

बजेटमाथिको छलफल र जवाफको समय बढाएर जेठ २१ गते सम्म पुर्याइएको छ ।

तपाईको प्रतिक्रिया