काठमाडौं–जेठ १७ । व्यवस्थापिका–संसद्को तेश्रो बैठक पनि नेपाली कांग्रेसको अवरोधका कारण कार्यसूचीमा प्रवेश नै नगरि स्थगित भएको छ ।
आजको बैठकमा प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको तर्फबाट महेश आचार्यले बोल्दै सार्वभौम संसद्को विशेषाधिकारमा आघात पुर्याउने गरि बजेटका सूचना चुहाइएको बारे छानबिन नहुँदासम्म बैठक चल्न नदिने बताउनुभयो । सरकारसँग मिलेर काम गर्न कांग्रेस तयार भएको भन्दै उहाँले यस्ता गतिविधि रोक्न प्रतिबद्धता चाहिएको जिकिर गर्नुभएको थियो । सांसद आचार्यले बजेटका महत्वपूर्ण सूचना चुहुनुका कारणबारे चित्तबुझ्दो जवाफ नआएसम्म संसद्को प्रक्रिया अघि बढ्न नदिने बताएपछि नेपाली काँग्रेसका सबै सांसद आ–आफ्ना आसनबाट उभिपछि बैठक सभामुखले ३ बजेसम्मका लागि स्थगन गर्नुभएको थियो ।
अर्थमन्त्रीले आर्थिक वर्ष २०७३/७४ को राजस्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी सदनसमक्ष प्रस्ताव प्रस्तुत गर्ने र त्यसमा छलफल गर्ने कार्यसूची आजको संसद् बैठकको थियो ।