काठमाडौं–जेठ १५ । भूकम्पपीडित परिवारलाई सहयोग गर्ने उद्देश्यले ‘एक घर एक ब्ल्याङ्केट’ अभियान स्वरुप नेपाली चलचित्र ‘लभ यु बाबा’को च्यारिटी शो गरिएको छ ।
विनाशकारी भूकम्पले पुर्याएको पीडामा मलहम लगाउने उद्देश्यले दीपशिखा फाउन्डेसनले सो चलचित्रको च्यारिटी शो गरेको हो । विश्वकै कान्छा निर्देशक सौगात विष्टद्वारा निर्देशित ‘लभ यु बाबा’को शुक्रबार साँझ सिटी सेन्टर कमलपोखरीमा च्यारिटी शो सम्पन्न भएको छ ।
च्यारिटी शो हेर्न पूर्व उपप्रधानमन्त्री समेत रहनुभएकी कांग्रेस नेतृ सुजाता कोइराला, नेवि सङ्घका केन्द्रीय अध्यक्ष रञ्जित कर्ण, चलचित्र सङ्घका अध्यक्ष रामकेशर बोगटी, गायक राजेशपाल राई, तेवान्दो खेलाडी दीपक विष्ट, क्रिकेट खेलाडी सोमपाल कामी, सगरमाथा आरोही फुर्वा तेन्जिङ लामा, कलाकार निर्मल शर्मालगायत पुग्नुभएको थियो ।
भूकम्पपछि भूकम्पपीडितलाई केही सहयोग पु¥याउने उद्देश्यले दीपशिखा खड्काबाट दर्ता भई सेवा थालेको संस्थाले दोलखा, सिन्धुपाल्चोक, गोरखालगायतका जिल्लामा रु २५ लाख बराबरको सामान वितरण गरिसकेको छ भने भूकम्पपीडित जनताका १० जना बच्चालाई निःशुल्क पढाउँदै आएको छ ।