शिक्षा आठौं संशोधन सम्बन्धी विधेयक पेश

काठमाडौं–जेठ १४ । संसद्को महिला, बालबालिका तथा समाज कल्याण समितिले शिक्षा आठौं संशोधन विधेयक २०७२ सम्बन्धी समितिको प्रतिवेदन पेश गरेको छ । संसद भवनमा शुक्रबार बसेको बैठकमा समितिका सभापति रञ्जुकुमारी झाले विधेयकसम्बन्धी प्रतिवेदन संसदमा पेश गर्नुभएको हो । समितिले बुधबार पारित गरेको शिक्षा आठौं संशोधन विधेयक २०७२ सम्बन्धी प्रतिवेदनमा २०७२ साल असोज २ गतेसम्म अस्थायी शिक्षकले आन्तरिक प्रतिस्पर्धा गर्न पाउने व्यवस्था पारित गरेको थियो ।

त्यस्तै, विधेयकमा २०६९ पुस १९ सम्म अस्थायी शिक्षकका रूपमा कार्यरत शिक्षकले प्रतिस्पर्धा वा सुविधासहितको अवकाश रोज्नुपर्ने प्रस्ताव गरिएको छ । अस्थायी शिक्षकले प्रतिस्पर्धा नरोजी अवकाश चाहेमा पाँचदेखि दश वर्षसम्म सेवा गरेका शिक्षकलाई प्रत्येक वर्षको आधा महिनाको तलब, दशदेखि पन्ध्र वर्षसम्म सेवा गरेको शिक्षकलाई एक वर्ष बराबर एक महिनाको तलब, १५ वर्षभन्दा बढी सेवा गरेका शिक्षकलाई एक वर्ष बराबर डेढ महिनाको तलब रकम दिने सरकारले राखेको प्रस्तावलाई समितिले पनि पारित गरेको थियो ।

अब संसदको बुहमतले पारित गरेपछि यो विधेयकले कानुनको रूप लिनेछ । त्यस्तै, संसद्को आजको बैठकमा अर्थ समितिले बैंक तथा वित्तीय संस्थासम्बन्धी विधेयक २०७२ र निक्षेप तथा कर्जा सुरक्षण कोष विधेयक २०७२ सम्बन्धी समितिको प्रतिवेदनसमेत पेश गरेको छ ।

तपाईको प्रतिक्रिया