चर्चामा सरकार परिवर्तनका कुरा, धरमरमा ओली

KP-oli-PMकाठमाडौं–बैशाख २१  । पछिल्लो समय फेरी नेपाली राजनीतिक बृत्तमा सरकार बनाउने र गिराउने आवाज उठ्न थालेको छ । ओली सरकारमा प्रमुख साझेदार रहेको दल एकीकृत नेकपा माओवादीका प्रभावशाली नेता मानिने कृष्णबहादुर महरा, बर्षमान पुन अनन्त नै अहिले सरकार फेर्ने कसरतमा देखिएका छन् । यसले ओली सरकार संकटमा पर्ने मात्रै देखिएको छैन एकीकृत नेकपा माओवादी नै यो सरकारसँग सन्तुष्ठ नभएको स्पष्ट भएको छ ।

हुनत, सरकारले जनजीविका र भूकम्पपछिको पुर्ननिर्माणका सवालमा प्रभावकारी काम गर्न नसकेको स्विकार गर्ने एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहालले अहिले नै सरकार परिवर्तनका बारेमा मुख खोलेका छैनन । यता, प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले खुलेर सरकारको नेतृत्व हातपार्ने कुरा नगरेपनि जनजीविका र भूकम्पपछिको काम गराइलाई मुख्य एजेण्डा बनाएर सरकार बिरुद्ध लाग्न आफ्ना नेता तथा सांसदलाई निर्देशन दिइसकेका छन् । यति मात्रै होइन उनले त सरकारले अपेक्षाकृत काम गर्न नसकेको भन्दै आफ्नो नेतृत्वमा सरका बन्न सक्ने अवस्था नआएमा एकीकृत नेकपा माओवादीका अध्यक्ष दाहालको नेतृत्वमा भएपनि सरकार परिवर्तन गर्नुपर्ने अनौपचारीक तयारी थालेका छन् । यसले फेरी सरकारमै दलहरु केन्द्रित बन्न थालेको देखाएको छ ।

सत्ताको नेतृत्व गर्ने दलका नेताहरुले यो सकारले देश र जनताको पक्षमा केहि महत्वपूर्ण काम गरेर मात्र बिश्राम लिने बताइरहेका बेला प्रमुख प्रतिपक्षी र सत्ता साझेदार अन्य दलका नेताहरु नै राष्ट्रिय सहमतिका नाममा सरकार परिवर्तनका कुरा गर्न थालेपछि ओली सरकारको दिनगन्ति सुरु भएको छ । केपीशर्मा ओली नेतृत्वको सरकार सात महिना पुरा गर्ने क्रममा छ । तर सरकार गठनको यति छोटो समयमै प्रधानमन्त्रीको नेतृत्व परिवर्तनका कुरा उठ्नुले स्थायी सरकार नेपालमा सम्भब छैन, भन्ने चर्चा परिचर्चा गर्ने जमात बढ्न थालेका छन् । अहिले सत्ता नेतृत्व र साझेदारमा रहेका दलका नेताहरु यहि सरकारलाई कांग्रेस सहितको सहभागितामा राष्ट्रिय स्वरुप दिने बताइरहदा सत्ताको प्रमुख घटक र प्रमुख प्रतिपक्षी दल कांग्रेसबाट नयाँ सरकारको कसरत सुरु भएपछि एमालेको सोचाई असफल सिद्ध हुने देखिएको छ ।

हुनत, पहिलो ठूलो दल नेपाली कांग्रेसको महाधिबेशन सम्पन्न भए लगत्तैबाट सरकार परिवर्तनका स्वरहरु बाहिर आएका हुन । तर अहिलेसम्म सरकार परिवर्तन र भावी प्रधानमन्त्रीको स्पष्ट खाका तयार भएको छैन । भूकम्पपछिको पुनःनिर्माण र राष्ट्रलाई समृद्ध बनाउन दलहरु एकजुट हुनुपर्ने जनचाहना बढिरहेको बेला सहमतिका नाममा सरकार परिवर्तनका कुरा आउनु कतिको जायज छ ? यो प्रश्न आफुलाई प्रमुख दल बताउने तीनै दलका नेताहरुलाई । कांग्रेस महाधिबेशनबाट सुरु भएको सरकार परिवर्तनको चर्चा कांग्रेस सभापति शेरबहादुर देउवाको भारत भ्रमणपछि झनै चुलिएको छ ।

दलहरु फेरी सरकार बनाउने र गिराउने फोहोरी खेलमा रुमलिन्छन वा राष्ट्रिय सहमति कायम गर्दै देशलाई निकास र विकास दिन केन्द्रित हुन्छन, यसका लागि भने केहि समय प्रतिक्षा गर्नैपर्छ ।

तपाईको प्रतिक्रिया