काठमाडौं–बैशाख १८ । दक्षिण कोरियामा रोजगारीका लागि छनौट हुने भाषा परिक्षा इपीएसका लागि ६० हजार ५ सय भन्दा बढी युवाको आवेदन परेको छ ।
कोरियाले यो पटक ३१ सय नेपाली कामदार मात्रै लैजाने बताएपनि आवेदकको संख्या ६० हजार नाघेको छ । आगामी असार ४ र ५ गते भाषा परीक्षामा सञ्चालन हुने इपीएस कोरिया शाखाले यसअघि नै जानकारी दिएको छ । आवेदनको अन्तिम रुजु बाँकि रहेको बताएको इपीएस कोरिया शाखाले बढीमा १ सयसम्म आवेदक थप हुन सक्ने जनाएको छ ।
गत वर्ष ८ हजार कामदारको काम भएकोमा ५१ हजार ५ सयले आवदन दिएका थिए । यो बर्ष कामदारको संख्या कटौती हुँदा र आवेदनमा एमआरपी अनिवार्य गर्दापनि आवेदकको संख्या बढेको पाइएको छ । काठमाडौंका ५ वटा आवेदन संकलन केन्द्रमा ३१ हजार भन्दा बढी आवेदन परेकोमा धरानमा मात्रै १० हजार ५ सय भन्दा बढी आवेदन दिएको इपीएस कोरिया शाखाले जनाएको छ । सबैभन्दा कम आवेदन जनकपुरमा साढे २ सय परेको छ । पोखरा केन्द्रमा आवेदन दिनेले भाषा परीक्षा पोखरामै दिन पाउनेछन्, अन्यले काठमाडौं आउनुपर्नेहुन्छ ।
यो वर्षको आवेदनमा डिग्री पास र महिलाको संख्या उल्लेख्य रुपमा बढेको इपीएस कोरिया शाखाको छ । इपीएस कोरिया शाखाका निर्देशक डिल्लीराम बास्तोलाले आवेदन प्रणलीको सफ्टवेयर अन्तिम चरणमा पुगेको भन्दै आगामी वर्षदेखि आवेदन दिन लाइन बस्न नपर्ने जानकारी दिनुभएको छ ।
उपत्यकाका पाँच स्थानसहित पोखरा, धरान, जनकपुर, बुटवल र डडेलधुरामा टोकन प्रणालीका आधारमा आवेदन लिइएको थियो ।