काठमाडौं–बैशाख १७ । लामो समय गुमनाम जस्तै बसेका पूर्वराजा ज्ञानेन्द्र शाह अचानक भारत भ्रमणमा निस्किनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
बिहीवार आफ्ना नीजि सचिव, निजी अंगरक्षक र शाही अर्दली सहित पूर्वराजा शाह नयाँ दिल्ली पुगेपछि नेपालको राजनीतिक क्षेत्रमा नयाँ तरंग पैदा भएको हो । देशमा राजतन्त्र फर्काउन भन्दै विभिन्न अभियानको तयारी हुँदैगर्दा विशेष कारण देखाउँदै पूर्वराजा अचानक भारत पुग्नुलाई महत्वपूर्णरुपमा हेरिनु स्वभाविक पनि हो ।
पूर्वराजाले भारतमा उच्च राजनीतिक भेटघाट गर्ने सम्भावना रहेको दरबार निकट स्रोतले जनाएपछि भने यसले नयाँ हलचल ल्याएको छ । यसअघि गत पुसमा थाइल्याण्ड भ्रमणका क्रममा भारतका उच्च राजनीतिज्ञसँग थाइल्याण्डमै पूर्वराजाको भेटघाट भएको थियो । करिब एक महिने थाइल्याण्ड बसाइपछि नेपाल फर्किएका पूर्वराजा लामो समयसम्म कुनै भेटघाटमा देखिएका थिएनन ।
भ्रमण एकदिने भएको र आवश्यकता अनुसार थपघट हुनसक्ने दरबार श्रोतको भनाई छ ।