राजनीतिक दबाबाको प्रतिवाद गरेर न्याय सम्पादन : डा.भट्ट

madhavi_bhattaबागलुङ–वैशाख १६  । सत्य निरुपण तथा मेलमिलाप आयोगका सदस्य डा.  माधवी भट्टले आयोगमाथि आउने जुनसुकै दबाबको प्रतिकार गरिने बताउनुभएको छ ।

स्थानीय शान्ति समिति बागलुङको कार्यक्रममा बिहीबार बोल्दै उहाँले सशस्त्र द्वन्द्वमा भएका मानव अधिकारको गम्भीर उल्लङ्घनसम्बन्धी घटनाको सत्यतथ्य छानबिनमा कुनै सम्झौता नहुने उल्लेख गर्नुभयो । “न्याय नै आयोगको मेरुदण्ड हो, दोषीलाई आम माफी दिन आयोग बनेको होइन”, सदस्य भट्टले भन्नुभयो – “काम गर्ने सिलसिलामा आयोगमाथि आजसम्म कुनै दबाब आएको छैन, कुनै पनि पक्षबाट आउने दबाबको हामी प्रतिकार गर्छौं ।” सशस्त्र द्वन्द्वको क्रममा भएका मानव अधिकारको गम्भीर उल्लङ्घनसम्बन्धी घटनाका पीडितलाई न्याय दिन आयोग प्रतिबद्ध रहेको उहाँको भनाइ छ ।

आयोगप्रति रहेको अविश्वास र आशङ्कालाई चिर्दै घटनाको सत्य अन्वेषण तथा छानबिन गरी वास्तविक तथ्य जनसमक्ष ल्याइने सदस्य भट्टले बताउनुभयो ।भट्टले दुर्गम भेगमा रहेका द्वन्द्वपीडितको उजुरी सङ्कलनका लागि घुम्ती टोली खटाउने विषयमा आयोगमा छलफल गर्ने बताउनुभयो । आयोगले ७५ वटै जिल्लामा रहेका स्थानीय शान्ति समितिका सचिवमार्फत उजुरी सङ्कलन गर्ने व्यवस्था गरेको छ ।

बागलुङमा हालसम्म १६ वटा उजुरी परेको स्थानीय शान्ति समितिले जनाएको छ । जसमा ११ वटा सत्य निरुपण तथा मेलमिलाप र पाँचवटा बेपत्ता आयोगसँग सम्बन्धित छन् । रासस

तपाईको प्रतिक्रिया