काठमाडौं । स्वर्गीय अभिनेता श्रीकृष्ण श्रेष्ठको निधनपछि लामो समयसम्म सार्बजनिक कार्यक्रममा सहभागी नभएकी अभिनेत्री स्वेता खड्का विस्तारै सामाजिक कार्यमा सामेल हुन थालेकी छन् । हालै राजधानीको लाजिम्पाटस्थित दरबार रोधी घरको उद्घाटनमा उनी पारिवारिक सदस्यकासाथ सहभागी भएकी थिइन् । सो कार्यक्रममा उनी हर्षित मुद्रामा थिइन् । कार्यक्रमको उद्घाटन पछि उनले कलाकारितामा आफू सँधै सँगै रहने प्रतिवद्धता व्यक्त गरिन् । केही समय उनले लोकदोहोरीमा पारिवारिक सदस्यसँग मनोरन्जन समेत लिइन् । रोधीको उद्घाटन कार्यक्रममा चलचित्र तथा सांगितिक क्षेत्रका कलाकारहरुको बाक्लो उपस्थिती थियो । भने, आधा दर्जन भन्दा बढी कलाकारले सांगितिक प्रस्तुती दिएका थिए । यही रोधीको कार्यक्रममा उनले गीत गाइरहँदा उनको हातमा टाटु देखिएको थियो । उक्त टाटु देखेपछि उपस्थितहरुले टाटुका विषयमा कानेखुशी र मुखामुख गरे । यही विषयमा स्वेतासँग बुझ्न खोज्दा उनले उक्त टाटुको बिशेष अर्थ र विशेष मितिको रुपमा लिएको जानकारी दिइन् । उनले भनिन्– ‘मैले आफ्नो जिवनको सबै भन्दा महत्वपुर्ण मितिको सम्झना स्वरुप हातमा टाटु खोपेको हुँ ।’ टाटुको सुरुको मिति ३–२३ अर्थात् असार २३ गते जनाएकी छिन् । उक्त मितिमा उनले श्रीकृष्ण संग बिहे गरेकी थिइन् । यस्तै दोस्रो मिति भने उनले खुलाउन चाहिनन्, आफै पत्ता लगाउनुस् भन्दै पन्छिएकी थिइन । टाटुमा रहेको दोस्रो मितिको दिन बलिउड सुपरस्टार सलमान खानको जन्मदिन रहेकाले उनले सलमान खानको जन्मदिन हो, त्यो दिन पनि मेरो लागि बिशेष छ भन्दै गर्दा कुराको गहिराई बढ्दै गयो । अन्ततः दोस्रो मिति सबै भन्दा महत्वपुर्ण रहेको बताउदै श्रीकृष्ठ श्रेष्ठसँग भेटेको पहिलो दिनको मिति रहेको खुलाइन् । टाटुमा दोस्रो मिति डिसेम्बर २७ अर्थात् पौष १२ गते रहेको छ । यो दिन स्वेताले पहिलो पटक श्रीकृष्ण श्रेष्ठलाई नेश्नल डान्स सेन्टरमा भेटेकी थिइन् । श्रीकृष्णसँगको फष्र्ट डेटको मितिमा सलमान खानको जन्मदिन पर्ने भएकाले खानको जन्मदिनमा समेत स्वेता श्रीकृष्णसँग जन्मोत्सवमा सहभागी हुने गरेकी थिइन् । श्रीकृष्णले चलचित्र ‘कहाँ भेटिएला’ निर्माण गर्ने क्रममा नयाँ नायिकाको खोजी गर्दा स्वेता संग भेट भएको थियो । चलचित्रमा नायक नायिकाको रुपमा काम गर्दा गर्दै उनीहरुबीच प्रेम बढेको थियो ।