यार्साको सिजनले डोल्पाका विभिन्न गाउँ शून्य

डोल्पा–जेठ २२ । बहुमूल्य जडीबुटी यार्सागुम्बाको सिजन सुरुभएपनि डोल्पाका विभिन्न गाउँ शून्य भएका छन् । यति मात्रै होइन स्थानीयवासी यार्सागुम्बा सङ्कलनका लागि हिमाली क्षेत्रमा गएपछि विभिन्न संघ संस्थाको काम समेत प्रभावित बनेको छ ।
yarsagumba-tipdai-650x250जेठ १० बाट औपचारिक रुपमा यार्सागुम्बा सङ्कलन सुरु भएपछि विस्तारै पातलिन थालेका गाउँ अहिले सुनसान जस्तै बन्न थालेका छन् । मध्य डोल्पास्थित त्रिपुराकोट गाविसका करेलिकाँडा, रसी, मद्धु, रुम, माझफाल गाविसका थरगाँउ, ताली, लाहारा हुँदै माथिल्लो डोल्पाका धो, तिन्जे, छार्का, मुकोट तथा तल्लो डोल्पाका कालिका, शर्मी, नर्कु, रिमी, काइगाउँलगायतका थुप्रै गाविस उराठ बनेका छन् ।

गाउँघरतिर मान्छे भेटाउनै गाह्रो परेको  शान्ति समिति डोल्पाका संयोजक देवसिंह कठायतले बताउनुभयो । यार्सा सिजनको प्रभावले यस समयमा विभिन्न सरकारी तथा गैरसरकारी कार्यालयबाट सञ्चालन हुने लक्षित कार्यक्रम प्रभावित भएको उहाँ बताउनुहुन्छ । यार्सागुम्बा सिजनले छिमेकी जिल्ला जाजरकोट, रुकुम, जुम्लाका धेरैजसो गाविस शून्य भएकापछि विद्यालय बन्द छन् ।

डोल्पाली तथा छिमेकी जिल्लावासीको आयआर्जनको मुख्य स्रोत यार्सागुम्बा भएकाले एक महिनाको अस्थायी बासको लागि बन्दोबस्तीका सामान र पशुचौपायसहित गाउँ घर नै शून्य पारेर पाटनतिर जाने परम्परा यो वर्ष मात्रै होइन ।

अझ छोटो समयमा धेरै कमाइ हुने भएकाले पनि घरकुर्ने मान्छेसमेत नराखी दूधे बालक, केटाकेटी, वृद्धसहितलाई यार्सागुम्बा खोज्न पुग्ने गर्छन । हुनत, जोखिमपूर्ण यार्सागुम्बा टिपाइ कतिपयको भाग्य बन्छ त केहीको मृत्युको कारण पनि बन्छ ।

तपाईको प्रतिक्रिया