प्रविधिले फड्को मारेकै कारण दोस्रो मृगौला प्रत्यारोपण स्वदेशमै सफल भएको प्रधानमन्त्रीको भनाई

काठमाडौं- प्रधानमन्त्री एवं नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान (नास्ट)का कुलपति केपी शर्मा ओलीले देशले विज्ञान प्रविधिको  क्षेत्रमा फड्को मारेकै कारण आफ्नो दोस्रो मृगौला प्रत्यारोपण स्वदेशमै सफल भएको बताएका छन् ।

नास्टद्वारा गत वर्ष विज्ञान र प्रविधिका क्षेत्रमा उदाहरणीय काम गर्ने व्यक्तिहरुलाई सम्मान गर्न बिहीबार आयोजित कार्यक्रममा बोल्दै ‘हाम्रा डाक्टरहरु अलि सुरा जस्तो लाग्यो । बाहिरका डाक्टरहरुले केही समय डायलाइसिस मै बस्नुपर्ने जस्तो कुरा गरेका थिए, यहाँका डाक्टरले हामीेले गर्छौ भने’ । पहिलो पटक गर्दा बारम्बार संक्रमणहरुले सताउने गरे पनि दोस्रो पटकको प्रत्यारोपण पछि भने त्यस्तो संक्रमण झेल्नु नपरेको र १२÷१३ दिनमै कार्यक्रममा भाग लिन थालेको उनले स्मरण गरेका छन्।

देशमा शिक्षा आर्जन गर्ने अधिकरार ७० वर्षअघि मात्रै प्राप्त  भए पनि विज्ञानको क्षेत्रमा क्रमशः प्रगति भइरहेको भनाई  पनि प्रधानमन्त्रीको थियो । यसै क्रममा देशले २०४० सालदेखि प्राविधिक शिक्षाको सुरुवात, नास्ट, कृषि अनुसन्धानका लागि नार्कको स्थापना तथा  नेपाली वैज्ञानिकले खोज अनुसन्धान सुरु गर्न थालेको पनि उनले बताए ।

प्रधानमन्त्रीले नेपालीहरुमा पुर्खाबाट आएको आनुवंशिक ज्ञानका आधारमा नव प्रतिभाहरुबाट  विज्ञानका  ठूला अनुसन्धान हुनसक्ने समेत बताउनुभयो  । परापुर्व कालमा औषधि विज्ञानका क्षेत्रमा महर्षी चरकको असाधारण योगदान, सल्यचिकित्साको क्षेत्रमा श्रुषुत संहिताको विकास भएको समेत उहाँले उल्लेख गर्नुभयो । पुरै विश्व खगोलबारे अन्धकारमा हुँदा तारा नक्षत्र आदि गनेर तिनका गति पत्ता लगाउने आदि गणितज्ञ भाष्कराचार्यले गरेको योगदान समेत उल्लेख गर्दैप्रधानमन्त्रीले नेपाली प्रतिभा प्रष्फुटनका लागि थुपै स्थान बाँकी रहेको पनि उनले उल्लेख गरे।   ।

विज्ञान प्रविधिकै माध्यमबाट देशमा जमिनको उत्पादकत्व वृद्धि गर्नुपर्ने धारणा उहाँको थियो । ‘सन् १९७०को दशक सम्म अन्न उत्पादन नहुने भएकोले एक छाक मात्रै अन्न खाने इजरायल अहिले अन्न निर्यातक देश भएको छ, र त्यहाँ कामगर्दै सिक्दै गरेका नेपाली युवा फर्केर यहाँ नमुनायोग्य काम गरिहेका छन्’।

हामीकहाँ इजरायलमा भन्दा धेरै गर्न सकिने गरी तीनै खालको मौसम रहेको उल्लेख गर्दै उहाँले यसका लागि आत्मविश्वास पैदा गर्नु जरुरी रहेको समेत बताएका छन्।

कार्यक्रममा  प्रधानमन्त्रीले देशको विज्ञान प्रविधि क्षेत्रमा उल्लेखनीय कार्य गरे बापत २०७७ सालको नास्ट प्रकृति संरक्षण पुरस्कार, विश्व वन्य जन्तु कोष नेपाललाई र नवप्रवर्तनको नयाँ उचाईमा प्रबर्धन गरे बापत सोही वर्षको कुलपति राष्ट्रिय नवप्रर्तन पुरस्कार राष्ट्रिय आविष्कार केन्द्रलाई प्रदान गरेका छन् ।

यसै गरी उहाँले  हिमाली क्षेत्रमा जलवायु प्रभावबारे सफल अनुसन्धान गरेबापत उत्तमबाबु श्रेष्ठ लाई विज्ञान प्रविधि पुरस्कार तथा  कोभिड सम्बन्धी विशेष अनुसन्धानका लागि शुक्रराज ट्रपिकल अस्पतालका शेरबहादुर पुन  उपत्यकको  भूमिगत जल संचयबारे अनुसन्धानका लागि भेषराज थापा, कोभिड एन्टीबडीसम्बन्धी अनुसन्धानका लागि सुनिता गौतमलाई विज्ञान पुरस्कार प्रदान गरेका छन्।

कार्यक्रममा डा आनन्द मिश्रलाई  धानको भुसबाट विशेष मल तयार गर्ने प्रविधि विकास गरे बापत,  डा अनुपमान श्रेष्ठलाई  बालिरोग नियन्त्रणमा जैविक विषादी सम्बन्धी अनुसन्धान गरेबापत र  डा सागर रेग्मीलाई क्यान्सर र व्यायमको अन्तरसम्बन्ध सम्बन्धी अनुसन्धानका लागि विज्ञान पुरस्कार प्रदान गरिएको छ।

यसैगरी महिला विज्ञान पुरस्कार डेंगुरोग फैलनमा तापक्रमको भुमिकाबारेको अनुसन्धानका लागि रेश्मा तुलाधरलाई प्रदान गरिएको थियो । विद्यालयमा विज्ञान शिक्षाको प्रवर्धन गरेबापत राजधानीको ज्ञानोदय माविका प्रधानाध्यापक नातिकाजी महर्जनलाई समेत पुरस्कार प्रदान गरिएको हो।

यसै गरी खगोल विधा र स्पेस रोबोटिकका लागि मनिषा द्वार, विज्ञान पत्रकारिताका लागि गोविन्द प्रसाद पोखरेललाई विज्ञान पुरस्कार प्रदान गरिएको हो।

तपाईको प्रतिक्रिया