२० हजार आधारभूत विद्यालयमा निःशुल्क इन्टरनेट

काठमाडौँ- सरकारले देशभरका करिब २० हजार आधारभूत विद्यालयमा निःशुल्क इन्टरनेट उपलब्ध गराउने भएको छ । यसअघि ब्रोडब्यान्ड नेटवर्क विस्तार परियोजनाअन्तर्गत देशैभरका सामुदायिक माध्यमिक विद्यालयमा मात्र इन्टरनेट उपलब्ध गराउने गरी कार्यक्रम कार्यान्वयन गरिएकोमा अब आधारभूत विद्यालयहरूमा इन्टरनेट उपलब्ध गराइने भएको हो ।

नेपाल दूरसञ्चार प्राधिकरणका अध्यक्ष पुरुषोत्तम खनालले ग्रामीण दूरसञ्चार विकास कोषअन्तर्गतको रकम प्रयोग गरेर आधारभूत विद्यालयहरूमा निःशुल्क इन्टरनेट उपलब्ध गराइने जानकारी दिनुभयो ।
“प्राधिकरणमार्फत स्थानीय तहलाई इन्टरनेट जडानका लागि रकम उपलब्ध गराइन्छ”, उहाँले भन्नुभयो, “त्यस्तो रकम स्थानीय निकायले प्रतिस्पर्धाका आधारमा इन्टरनेट सेवा प्रदायकहरूलाई उपलब्ध गराउन बोलपत्र गर्न सक्छन् ।”

फोटो: गुगल

देशैभरमा सार्वजनिक निकायहरूमा उच्च गतिको इन्टरनेट पु-याउने लक्ष्यसहित ब्रोडब्यान्ड नेटवर्क विस्तारका लागि प्राधिकरणले पाँच अर्ब रुपियाँभन्दा बढी लगानी गरिरहेको छ । थप २० हजार विद्यालय पनि जोडिने भएपछि करिब एक अर्ब रुपियाँ जति लगानी थप्नुपर्ने प्राधिकरणको अनुमान छ ।
यस कार्यक्रममा स्थानीय तहमार्फत देशभरका प्राथमिक र निम्न माध्यमिक विद्यालयहरू लाभान्वित हुनेछन् । यस्तै सरकारले भूकम्पबाट अति प्रभावित बागमती प्रदेशका विभिन्न आठवटा जिल्लामा अप्टिकल फाइबरसहितको ब्रोडब्यान्ड नेटवर्क विस्तार गर्ने भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मङ्गलबार उक्त कार्यक्रम सुरुवात भएको जानकारी दिनुभयो ।

उहाँका अनुसार यो कार्यक्रमअन्तर्गत काभ्रे, नुवाकोट, रसुवा, सिन्धुपाल्चोक, दोलखा, सिन्धुली, ओखलढुङ्गा र रामेछापका हरेक सार्वजनिक निकायमा इन्टरनेट जडान हुनेछ । यसअघि ती जिल्लामा भूकम्पलगत्तै भिस्याट प्रविधिमार्फत इन्टरनेट पु-याइएको थियो । मन्त्री गुरुङले अब स्थानीय निकायसँगको समन्वयमा अप्टिकल फाइबरमार्फत इन्टरनेट पु-याइने र त्यस्तो इन्टरनेट दुई वर्षसम्म निःशुल्क गर्न पाइने बताउनुभयो । यी जिल्लाका ७६ वटा स्थानीय निकायमा सम्झौता भएको तीन महिनाभित्र इन्टरनेट पु-याउनु पर्नेछ । यसरी पु-याइने इन्टरनेट न्यूनतम २० एमबीबीएसको हुनेछ ।यो समाचार आजको गोरखापत्र दैनिकमा प्रकाशित छ ।

तपाईको प्रतिक्रिया