सांगठनिक एकीकरणमा नेकपा अघि बढ्न सकेन

काठमाडौं– कुनैपनि राजनीतिक दलमा उसका भातृ संगठनहरूको महत्वपूर्ण भूमिका रहने गर्दछ । अझ कतिपय अवस्थामा राजनीतिक दलको सांगठनिक संरचनालाई दलको मुख्य खम्बाकै रूपमा लिइने गरिएको छ । तत्कालीन दुई ठूला दल माओवादी केन्द्र र नेकपा एमालेवीच पार्टी एकीकरण भइ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) बनेको झण्डै ८ महिना समय भएपनि अझै सांगठनिक एकीकरणको प्रक्रिया शुरू हुन सकेको छैन । नेकपामा तल्ला कमिटीहरूको एकीकरण, जनवर्गीय संगठनहरूको एकीकरण, विभाग, ज्येष्ठ कम्युनिष्ट मञ्च, सल्लाहकार कमिटी गठनलगायतका धेरै काम बा“की छन् ।

नेकपा भित्रको गुटबन्दी र भागबन्डाको विषय मिल्न नसक्दा अहिलेसम्म सांगठनिक एकीकरणको प्रक्रिया अघि बढ्न नसक्दा यसले थप अन्योलता सृजना गर्दै लगेको छ । अहिले नेकपाका कतिपय नेताहरूले संगठन एकीकरणको काम अघि बढ्न नसक्दा सरकारको गलत प्रचार भइरहेको समेत बताइरहेका छन् । पार्टी एकता भएको झन्डै आठ महिना बितिसक्दा पनि नेकपाको पूर्ण सांगठनिक आकार तयार भएको छैन ।

नेकपा भित्र पार्टीको संगठन आकार तयार गर्नेभन्दा नेताका कार्यशैली र सरकारको कामकारबाहीबारे समेत विवाद बढ्दै गएकाले पनि सांगठनिक एकीकरण झन् ओझेलमा पर्दै गएको छ । अहिले पार्टी नेताहरूको स्वार्थ नमिलेका कारण पार्टीको सांगठनिक एकीकरण हुन नसकेको राजनीतिक विश्लेषण समेत भइरहेको छ । अहिले नेकपाले केन्द्रदेखि प्रदेश र अधिकांश स्थानीय तहको नेतृत्व गरेपनि पार्टीको सांगठनिक एकीकरण हुन नसक्दा केन्द्रमा एक पार्टी तर संगठनभित्र दुई पार्टी नै सञ्चालमा रहेको गुनासो कार्यकर्ताले गर्दै आएका छन् । अहिले पनि तत्कालीन एमाले र माओवादी केन्द्रकै संगठनहरूले नै काम गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया