निर्वाचन आयोगले राजसंस्था र हिन्दु राज्य हटाएको भन्दै कमल थापा आक्रोशित

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष कमल थापा निर्वाचन आयोगसँग रूष्ट बनेका छन् । शनिबार चुनाव चिन्ह सार्वजनिक कार्यक्रम बोल्दै राप्रपाका अध्यक्ष कमल थापाले निर्वाचन आयोगले संविधान विपरित राप्रपाको विधानबाट हिन्दु राष्ट्र र राजतन्त्रसम्वन्धी व्यवस्था हटाइएको भन्दै आक्रोस व्यक्त गर्नुभयो ।

अध्यक्ष थापाले निर्वाचन आयोगकै कारण स्थानीय चुनावको वातावरण धमिलिनसक्ने भन्दै आयोगले आफ्नो निर्णय नसच्याए सरकारबाट बाहिरिएर संघर्षका लागि सडकमा जाने बताउनुभयो । अध्यक्ष थापाले कुनै पनि पार्टीका लागि उसको विचार र सिद्धान्त मुख्य कुरा भएको भन्दै यसलाई हटाउने निर्वाचन आयोगको निर्णय स्वीकार्य नहुने बताउनुभयो ।

यो विषय राप्रपाको मात्र नभएको बताउँदै थापाले प्रधानमन्त्री पुष्पकमल दाहाल, कांग्रेस सभापति शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीलाई यसबारे आफ्नो धारणा सार्वजनिक गर्न माग गर्नुभयो । चुनावमा जाँदा दलहरुले बोक्ने एजेण्डा निर्वाचन आयोगले नभई दल स्वयंमले तय गर्ने अध्यक्ष थापाको भनाइ थियो ।  सम्बोधनको अधिकांश समय आयोगको निर्णयको आचोचनामा विताएका थापाले निर्णयमा पुनर्विचार गर्न आग्रह समेत गर्नुभयो । राप्रपाले गाईलाई आफ्नो चुनाव चिन्हको मान्यता दिएको छ ।

तपाईको प्रतिक्रिया