काठमाडौं–देशैभर महाशिवरात्रिको रौनक यतिबेला बढेको छ । काठमाडौंको पशुपतिनाथ सहित देशभरका शिवालयमा विहानैदेखि श्रद्धालु भक्तजनको घुइँचो लागेको छ । शिव उत्पत्ति भएको रातका नामबाट नामकरण भएको महाशिवरात्री प्रत्येक वर्षको फागुन कृष्ण चतुर्दशीका दिन मनाइने प्रचलन छ । कालरात्री, मोहरात्री, सुखरात्री र शिवरात्री नामक चार प्रमुख रात्रीमध्ये एक पवित्र पर्वका रूपमा शिवरात्रीलाई पुराणमा वर्णन गरिएको छ ।
आजको दिन भक्तजनहरुले शुद्ध भई शिव मन्दिरमा पूजाअर्चना गरी व्रत बस्ने र शिवको प्रिय वस्तु दूध, धतुरो र बेलपत्र चढाउने गर्छन् । पशुपतिनाथमा दर्शन गर्न हरेका वर्ष भारत लगायतका देशहरुबाट सयौंको संख्यामा भक्तजनहरु आउने गरेका छन् । त्यस्तै, केदारनाथको शिरको रुपमा पुजिने भक्तपुरको डोलेश्वर महादेव मन्दिरमा पनि दर्शनार्थीको घुइँचो लागेको छ ।
पशुपतिमा शिवरात्रि मेला हेर्न हजारौं संख्यामा युवायुवति पुगेका छन् । त्यस्तै, शिवरात्री मनाउन भारतबाट आएका नाङ्गा बाबाहरूले पनि शिवरात्री रौनकता बढाएका छन् । शिवरात्रीको समयमा हरेक बर्ष भारतबाट नाङ्गा बाबाहरू पशुपछि आउने गर्दछन् ।