म्याग्दीका कृषक मौरी पालनमा आर्कषित

म्याग्दी–जेठ १ । म्याग्दीका कृषकहरु पछिल्लो समय ब्यवसायीक मौरीपालनतर्फ आकर्षित भएका छन् । परम्परागत रुपमा मौरीपालन गर्दै आएका कृषकहरु ब्यवस्थित मौरीपालन गरेर ब्यवसायीक बन्न थालेका हुन् । कम लगानीमा छिटो प्रतिफल प्राप्त गर्न सकिने, अनुकुल हावापानी एवं वातावरण, सिप तथा प्रबिधिको विकास र विस्तारको साथै उच्च ब्यवसायीक सम्भावनाका कारण म्याग्दीका कृषकहरुले मौरीपालन पेशा अगाँल्न थालेका हुन् ।

गाईभैसी, भेडाबाख्रा र कुखुरालाई जmauriस्तै धेरै समय र पुँजी लगानी गर्नु नपर्ने तथा आम्दानीको राम्रो सम्भावना भएकाले मौरीपालनमा कृषकको आकर्षण बढेको हो । वनजंगल र खेतबारीको बगैचाबाट आहारा आपूर्ती गराउन सकिने मौरीपालनका लागि धेरै जग्गा जमिनको पनि आवश्यकता पर्दैन् । मौरीपालन विस्तार हुन थालेपछि नयाँ घार र गोलाको माग बढेको छ । उपर्युक्त हावापानी र पर्याप्त चरनक्षेत्र रहेको म्याग्दीमा केही वर्षअघि सम्म मौरीपालन घरायसी उपभोगमै सिमीत थियो । परम्परागत काठको मुडे घारमा मह उत्पादन गर्दै कृषकले पछिल्लो समय आधुनिक घारमा मौरी पाल्न थालेका छन् । ब्यवसायीक मौरीपालन गरेका कृषकहरुले मह र मौरीको गोला बेचेर प्रतिव्यक्ति वार्षिक तिन देखि चार लाख रुपैया सम्म आम्दानी गरेको बताएका छन ।

गोलाबाट मह नझिक्दै माग आउने भएकाले बजारको कुनै समस्या छैन् । प्रतिलिटर एक हजार रुपैयामा बिक्री हुने म्याग्दीको घरमह बिदेशमा समेत निर्यात हुने गरेको छ । जिल्ला कृषि विकास कार्यालयले घतान, पात्लेखेत, पिप्ले, डडुवा, चिमखोला, भकिम्ली, ज्यामरुककोटलाई मौरीपालनका लागि पकेट क्षेत्र घोषणा गरेको छ । सात वटा समूहमा आवद्ध १४० जना कृषकहरुले चार हजार पाँच सय घारमा सेरेना जातको ब्यवसायीक मौरीपालन गरेको कृषि विकास कार्यालयले जनाएको छ । म्याग्दीमा वार्षिक २२ हजार पाँच सय किलोग्राम घरमह उत्पादन हुन्छ । मौरीपालन विस्तारका लागि कृषि विकास कार्यालयले प्राबिधिक तालीम, अनुदानमा घार र उपकरण सहयोग गरेको जनाएको छ । एक वर्षमा दुई पटक निकाल्न सकिने मह एउटै घारमा वर्षमा पाँच किलोसम्म उत्पादन हुन्छ ।

महको अलवा मौरीको गोलानै बेच्दा अझ बढी फाईदा हुने कृषकहरु बताउँछन् । तर मौरीपालनको प्रशस्त सम्भावना भएपनि यसतर्फ राज्य र कृषकहरुको पर्याप्त ध्यान पुग्न सकेको छैन् । सरकारी निकायले सञ्चालन गरेको मौरीपालन सम्बन्धि कार्यक्रम तथा योजना पनि पर्याप्त नभएको कृषकहरुको गुनासो छ ।

तपाईको प्रतिक्रिया