सरकारका बारेमा विभाजित बन्दै सांसद्हरु

Samsad-bhawan-1काठमाडौँ–बैशाख २३ । व्यवस्थापिका–संसद्को बिहीबारको बैठकमा वर्तमान सरकारको निरन्तरता वा विकल्प खोज्ने भन्नेमा प्रमुख दलका सांसद्हरु विभाजित बनेका छन् ।
बैठकमा सभामुखसँग समय लिई बोलेका नेपाली कांग्रेस र एकीकृत माओवादीका सांसद्ले अहिलेको सरकार बोलिमा मात्रै अल्झिएको भन्दै विकल्प खोज्नुपर्ने धारणा राखेकोमा यता, एमाले र राप्रपा नेपाललगायत सत्तारुढ दलका सांसदले कमिकमजोरी सुधार गर्दै सरकारको निरन्तरतामा जोड दिएका थिए ।
बैठकमा कांग्रेस सांसद डा.प्रकाशशरण महतले सरकार काममा भन्दा गफमा अल्झिएको आरोप लगाउदै भूकम्पपछिको पुनःनिर्माणमा दातृ निकायले दिएको आर्थिक सहयोग खर्च गर्न नसक्नु, जनजीविकामा मौन बस्नु, लगायतका कारण सरकारको बिकल्प खोज्नुपरेको बताउनुभयो ।

एमाओवादीका जनार्दन शर्माले संविधान कार्यान्वयन, राहत, महँगी नियन्त्रण जस्ता सामान्य जनचाहना पुरा गर्न नसक्ने सरकारले निरन्तरता पाउन नसक्ने बताउनुभयो । सांसद शर्माले संविधान कार्यान्वयन, भूकम्पपीडितलाई राहत र पुनःनिर्माणकालागि बहुमतीय सरकारभन्दा राष्ट्रिय सहमतिको सरकार आवश्यक हुने धारणा राख्नुभयो ।

एमालेका युवराज ज्ञवालीले भूकम्प र भारतीय नाकाबन्दीको समयमा वर्तमान सरकार गठन भएको स्मरण गराउँदै सोचेजस्तो काम गर्न नसकेपनि सरकारलाई एकपटक नीति तथा कार्यक्रम र बजेट ल्याउन दिन आग्रह गर्नुभएको थियो ।

यस्तै, राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालका सुशीलकुमार श्रेष्ठले पनि सरकार परिवर्तनभन्दा संविधान कार्यान्वयन र जनचाहना अनुसारकाको काममा केन्द्रित बन्न प्रमुख राजनीतिक दलको ध्यानाकर्षण गराउनुभयो । सत्ताको जोड घटाउले राष्ट्रियता कमजोर हुने भन्दै उहाँले बरु यहि सरकारलाई राष्ट्रिय सहमतिको स्वरुप दिनुपर्ने बताउनुभएको थियो ।

तपाईको प्रतिक्रिया