सरकारमा पुग्न भन्दा देश र जनताको पक्षमा काम गर्छु : देउवा

काठमाडौँ–चैत २४ । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी संसदीय दलको नेतामा निर्वाचित भएपछि आफुमा थप जिम्मेवारी बढेको बताउँनुभएको छ । ser-bahadur-deuwa2

पार्टीको व्यवस्थापिका–संसद्, संसदीय दलको नेताको निर्वाचनमा विजयी भएपछि पार्टी सभापति समेत रहनुभएका देउवाले आफूमा पार्टीसँगै थप राष्ट्रिय अभिभारा थपिएको बताउनुभएको हो । दलको नेताको निर्वाचनमा सभापति देउवाले १३९ मत र वरिष्ठ नेता रामचन्द्र पौडेलले ६७ मत प्राप्त गर्नुभएको थियो । मतदानमा २०७ सांसद् सहभागी थिए ।

जितपछि देउवाले आन्तरिक प्रजातान्त्रिक अभ्यास भएको भन्दै आफुले जित हारको रुपचा चुनावलाई नलिएको बताए । काँग्रेसले जहाँनियाँ राणाशासन र निरङ्कुश पञ्चायती व्यवस्था हटाएर मुलुकमा प्रजातन्त्रको स्थापना गरेको इतिहास स्मरण गराउँदै सभापति देउवाले मुलुकको बाँकि अभिभारा पुरा गर्न आफु सक्रिय हुने बताउनुभयो ।
ठूला आन्दोलनमा वीपी कोइराला, गणेशमान सिंह र कृष्णप्रसाद भट्टराईलगायत कांग्रेसका नेताको ठूलो त्याग र योगदान रहेको स्मरण गर्दै उहाँले मुलुकलाई समृद्ध बनाउने र सङ्घीय लोकतान्त्रिक गणतन्त्रलाई सुदृढीकरण गर्ने काममा पार्टीले योगदान दिने बताउनुभयो ।  उहाँले भन्नुभयो–“म यस काममा आफ्नो क्षमताले भ्याएसम्म लाग्ने छु ।”
आफ्ना प्रतिस्पर्धी नेता पौडेलको बारेमा सभापति देउवाले आफूलाई नेता पौडेलको सहयोगको आवश्यकता रहेको बताउँदै उहाँलाई विश्वास र सहयोग लिएर पार्टीलाई अझ बलियो बनाउने दाबी गर्नुभएको थियो ।
मुलकका वर्तमान समस्या समाधानमा आफू र आफ्नो पार्टी गम्भीर भएर लागेको बताउँदै सभापति देउवाले भूकम्पबाट क्षतिग्रस्त भौतिक संरचनाको पुनःनिर्माण गर्नुका साथै भूकम्पपीडित जनताको तत्काल उचित व्यवस्थापन गर्नुपर्ने बताउनुभयो । न्यायालय राजनीतिक पार्टीको हस्तक्षेपबाट मुक्त हुनुपर्ने भन्दै उहाँले मधेसका जायज मुद्दा सहमतिका साथ समाधान गरी संविधानको प्रभावकारी कार्यान्वयन गर्न पार्टी लाग्ने बताउनुभयो ।
विदेशिएका युवालाई स्वदेशमै काम गर्न वैदेशिक लगानी भित्र्याउनुको विकल्प नभएको भन्दै देउवाले स्वदेशमा रोजगारी श्रृजनामा ध्यान दिइने बताउनुभयो ।  काँग्रेसले रचनात्मक प्रतिपक्षीको भूमिका निर्वाह गर्ने बताउँदै दलका नेता देउवाले अहिले नै सरकारको पछि नलाग्ने बताउनुभयो ।

तपाईको प्रतिक्रिया