युरो कपको तयारी पुरा, शुक्रबारबाट खेल शुरु

काठमडौं–जेठ २५ । मिनी विश्वकपको रुपमा परिचित लोकप्रिय फुटबल खेल युरो कपको तयारी पुरा भएको छ । २४ राष्ट्र सहभागी हुन लागेको युरो कपको १५ औं संस्करण फ्रान्समा शुक्रबार शुरु हुदैछ ।

vlcsnap-2016-06-07-19h47m01s443युरो कपमा आयोजक फ्रान्ससहित, जर्मनी, स्पेन, इटाली, इंग्ल्याण्ड, पोर्चुगल, बेल्जियम, रोमानिया र स्वीजरल्याण्ड रहेका छन् । रसिया, युक्रेन, पोल्याण्ड, टर्की, क्रोएसिया, रिपब्लिक अफ आयरल्याण्ड, चेक रिपब्लिक, अष्ट्रिया, स्वीडेन र हंगेरी सहभागी छन् । त्यस्तै, प्रतियोगितामा अल्बानिया, आइस्ल्याण्ड, उत्तरी आयरल्याण्ड, स्लोभाकिया र वोल्सले पहिलो पटक सहभागिता जनाउदै छन् ।

सन् १९६० को पहिलो संस्करणको युरोकप आयोजना गरेको फ्रान्सले सन् १९८४ मा भएको युरो कपको उपाधि घरमै राख्न सफल भएको थियो । २००० मा संयुक्त रुपममा बेल्जियम र नेदरल्याण्डसको आयोजनमा भएको संस्करणमा फ्रान्सले दोस्रो पटक उपाधि चुमेको थियो । फ्रान्सले घरेलु मैदान र दर्शकको साथमा उपाधि आफ्नै पोल्टामा पार्ने दाउमा छ । यता, जर्मनीलाई पनि युरो कपको प्रमुख दाबेदार राष्ट्रका रुपमा हेरिएको छ । विश्वकप विजेता जर्मनी अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिताको सदाबहार दाबेदार राष्ट्र हो ।

सन १९७२ को डेब्यु संस्करणमा नै उपाधि जितेको जर्मनीले १९८० मा दोस्रो पटक र सन १९९६ मा  तेस्रो पटक उपाधि जितेको थियो । त्यसो त, साविक विजेता स्पेनलाई यो पटक पनि उपाधिको दाबेदार राष्ट्रको रुपमा लिएको छ । लगातार दुई पटक च्यापियन बनेको स्पेन १५औं संस्करणको उपाधि जित्दै ह्याट्रिक गर्ने दाउमा छ । स्पेनले पहिलो पटक सन् १९६४ मा उपाधि जितेको थियो । अन्तर्राष्ट्रिय फुटबलमा सफल गनिएको स्पेनले युरोकप २००८ , विश्वकप २०१० र युरोकप २०१२ गरी लगातार तीन ठूला उपाधि जित्न सफल भएको थियो । समूह डीमा रहेको स्पेन सन् २०१४ विश्वकपको समूह चरणबाटै बाहिरिएको तितो पीडालाई भुलाउदै उपाधि रक्षा गर्ने दाउमा छ ।

युरोकपका लागि उपाधिको दाबेदार तर सधै अभागि राष्ट्रका रुपमा परिचित इंग्ल्याण्ड यो पटक भने तितो इतिहासलाई बिर्सिने सुरमा छ । अन्तर्राष्ट्रिय फुटबल प्रतियोगिता अघि सधैं चर्चामा रहने इंग्ल्याण्डले अहिलेसम्म उपाधि जित्न सकेको छैन् । इंग्ल्याण्डले युरोकपमा अहिलेसम्म सेमिफाइलनसम्मको यात्रा तय गरेको छ । एक पटकको युरो कप विजेता इटली साविक उपविजेता हो । सन १९६८ को युरो उपाधि जितेको इटली २००० र २०१२ मा उपविजेतामै चित्त बुझाएको थियो । यस्तै छोटो समयमै चर्चामा आएको पोर्चुगल पनि बलियो राष्ट्रका रुपमा छ । विश्वचर्चित क्रिस्टियानो रोनाल्डो जस्ता भरपर्दा खेलाडी चल्न सके युरोकपमा पोर्चुगलले पनि छलाङ मार्न सक्छ । यता, बेल्जियम र स्वीडेन पनि बलियो राष्ट्रका रुपमा परिचित छन् ।

तपाईको प्रतिक्रिया