विवेकशील साझा पार्टीको दुई-तिहाइ बहुमतबाट पारित भयो ‘मार्ग परिवर्तन’ दस्ताबेज

काठमाडौँ-  विवेकशील साझा पार्टी केन्द्रीय समितिको आज बसेको बैठकले पार्टी अध्यक्ष रवीन्द्र मिश्रले हालै सार्वजनिक गरेका दस्ताबेज “मार्ग परिवर्तन: विचारभन्दा माथि देश दुई-तिहाइ बहुमतले पारित गरेको छ।

विवेकशील साझा पार्टी प्रवक्ता शरदराज पाठकद्वारा जारी बिज्ञप्तिमा स्थानीय तहलाई पुनर्संरचना र सुदृढ गर्दै सङ्घीयता खारेजी तथा धर्म निरपेक्षतामाथि जनमत सङ्ग्रहको माग राख्दै तयार पारिएको उक्त दस्ताबेजलाई केन्द्रीय समितिका १२४ सदस्यमध्ये बैठकमा उपस्थित ९१ सदस्यले सर्वसम्मतिबाट अनुमोदन गरेको जानकारी दिएका छन्।

बिज्ञप्तिमा बैठकले पार्टी अध्यक्षलाई प्रमुख कार्यकारी भूमिका प्रदान गर्ने गरी विवेकशील साझा पार्टीको विधान पनि संशोधन गरेको जानकारी दिइएको छ ।

बिज्ञप्तिमा ‘ पार्टी अध्यक्ष र संयोजकमा बराबरी कार्यकारी अधिकार रहँदा पार्टी सञ्चालन गर्न कठिनाइ उत्पन्न भएको बैठकको निष्कर्ष थियो।’ भनिएको छ ।

बिज्ञप्तिमा भनिएको छ’ बैठकले पार्टीलाई अब तुरुन्तै बृहत्तर ध्रुवीकरण र एकतामा लिएर जाने र राष्ट्रिय राजनीतिमा हस्तक्षेपकारी शक्ति निर्माण गर्न आक्रामक रूपमा अघि बढ्ने निर्णय पनि गरेको छ।’

 

 

तपाईको प्रतिक्रिया