चर्चित पत्रकार राजेन्द्र बानियाँले कोरोनाको विषयमा सरकारलाई यसरी कडा ब्यङ्ग्य गरे, “ला सपना पो ?”

हिमालय टेलिभिजनमा कार्यक्रम यक्ष प्रश्न चलाउँदै आएका चर्चित पत्रकार राजेन्द्र बानियाँले सरकारको कमजोरीको तिखो आलोचना गर्दै फेसबुका स्टाटस राख्नुभएको छ । उहाँको फेसबुक जस्तको त्यस्तै :
मेरो सरकारप्रती गर्व छ मलाई किनभने मलाई कोरोनाबाट बचाउने सरकारै यहि हो । त्यसको पछिल्लो उदाहरण मेरो सरकारले कती जोखिम मोलेर निषेधाज्ञा थप गर्ने निर्णय गरेछ । कठै कति सकस भयो होला,ऐठन भयो होला अनि सरकारको आँखा रसायो होला जनतालाई घरमै थुन्नुपर्दा तैपनी बडो चुनौती सामना गर्दै निषेधाज्ञा थप्ने निर्णय गरेछ ।
सरकार होस् त मेरो जस्तो निषेधाज्ञामा बसेका जनताको घरघरमा रासन पुगेको छ,हमेसा सरकारका मान्छे अनि वार्डका जनप्रतिनिधिले सोधिरहन्छन् तपाईँलाई कुनै समस्या छ कि? खातामा महिनैपिच्छे सरकारले राहत रकम हाल्देको छ क्या मज्जा ,सरकारलाई थाहा छ नि महामारीमा जनताको चुलो बाल्ने दायित्वबाट सक्षम सरकार कहिँ चुक्छ त?टोलटोलमा एम्बुलेन्स कुदेको छ कतै भाइरसले जनतासङ्ग पौठेजोरी खेल्ला र त्यसलाई अस्पतालमा लगेर पछारौँला भनेर ।

एम्बुलेन्स खाली कुद्दैनन् टोलमा । बरु डाक्टर,स्वास्थ्यकर्मी अनि अक्सिजनको सिलिन्डर पनि सङ्गै हुन्छ । घरघरमा गार्हो पर्दा साथी होस् भनेर हट लाइनको ब्यबस्था गरिएको छ । अलिकती सकस हुनासाथ सरकारले स्थानीयस्तरमा बनाएका अत्याधुनिक सुबिधासम्पन्न होल्डिङ्ग सेन्टरमा लैजाने ब्यबस्था गरेकै छ,थप गार्हो हुँदा अक्सिजनको अनि आइसीयुको कुनै कमी छैन ।
घरमै बेसार पानी,अम्बाको पात पकाएर खाए पनि हुन्छ,त्यसको पनि पूरा तयारी छ अनि खोप प्रधानमन्त्रीज्युले भनेकै समयमा हरेक नागरिकले पाईहालेका छन् । वाह! मेरो सरकार,नेता र कार्यकर्ताहरु !!तपाईहरुको रामराज्यमा मलाई लकडाउन होइन,निषेधाज्ञा होइन जेल पनि कति सुबिधासम्पन्न होला जस्तो पो लाग्छ कहिलेकाँही ? मलाई त जेल पनि एकपटक सयर गर्न पो मन छ त । किनकी जेलमै पनि कोरोना होला भनेर सिसाको खोपी बनाउनुभाको होला हैन ?
लेख्न अझै मन थियो,सरकारको गुणगान, महिमा र भक्तिगान गरेर पुगेकै छैन, तल घण्टी बज्यो हेरेर आउँछु ल । भनेकै थिएँ नी। २० दिन अघि ज्वरो आको मलाई वार्डको संयोजनमा कर्मचारी अनार,स्याउ अनि तरबुजाको जुस पो लिएर आएछन् ,माया नि कति गर्ने क्या आमाले जसरी,जुस अहिल्यै खानुस् खुरुक्क भने मैले सुर्काएँ । वाह!मेरो राज्यसत्ता,सरकार अनि देशको बागडोर चलाउने महामहिमहरु !कोहि बात छैन । तपाईहरु सत्ताको जोडघटाउमा लागे पनि हुन्छ,साम्सदको हेराफेरीमा लागे नि हुन्छ । पोहोर पनि तपाईहरुले त्यसै गर्दा नि जनतालाई केही भएन ।

तपाईको प्रतिक्रिया