पूर्वमन्त्री यज्ञराज न्यौपानेको निधन

मान्म (कालीकोट), ४ पुस : नेपाल सरकारका पूर्वसूचना तथा सञ्चार सहायकमन्त्री यज्ञराज न्यौपानेको निधन भएको छ । कलेजो रोगले ग्रसित न्यौपानेको उपचारका क्रममा आज बिहान ४ बजे भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमा निधन भएको हो ।

मिर्गौला रोगपीडितसमेत रहनुभएका पूर्णमन्त्री न्यौपानेको उपचारका क्रममा अस्पतालमै निधन भएको उहाँका आफन्त रहनुभएका अधिवक्ता उमाकान्त न्यौपानेले बताउनुभयो । उहाँका अनुसार न्यौपानेको तीन महिनादेखि भक्तपुरको मानव अङ्ग प्रत्यारोपण केन्द्रमा उपचार भइरहेको थियो ।

दुई छोरा र तीन छोरी रहेका न्यौपानेका एक छोरा दुबईमा रहनुभएकाले उहाँ दुबईबाट नेपाल फर्केपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने न्यौपानेले जानकारी दिनुभयो । विसं २०५१ मा कालीकोटमा नेकपा (एमाले)बाट प्रतिनिधिसभामा निर्वाचित न्यौपाने सूचना तथा सञ्चार सहायकमन्त्री हुनुभएको थियो । कालीकोटको रास्कोट नगरपालिका–८ को फुकोट गाउँमा जन्मिुनभएका न्यौपाने साविकको फुकोट गाउँ विकास समितिको अध्यक्षमा समेत निर्वाचित हुनुभएको थियो ।

तपाईको प्रतिक्रिया