धार्मिक द्वन्द्व निम्तन नदिन नेपालगञ्जमा सद्भाव पदयात्रा

राँझा (बाँके), १६ असोज । नेपालगञ्जमा आज वृहत सद्भाव पदयात्रा आयोजना गरिएको छ । सामाजिक सद्भाव र धार्मिक एकता कायम गर्ने उद्देश्यले बागेश्वरी मन्दिरका महन्त चन्द्रनाथ योगी, मुस्लिम धर्मका धर्मगुरु मौलाना अब्दुल जब्बार मञ्जरीलगायतका धर्मगुरु, नागरिक समाजका प्रतिनिधि र सर्वसाधारणको सहभागितमा पदयात्रा निकालिएको हो ।

वीपी चोकबाट सुरु भएको पदयात्राले मुख्य बजारको परिक्रमा गरेको थियो । सामाजिक सद्भाव नेपालगञ्जको पहिचान भएकाले यसलाई अझै प्रगाढ बनाउन पदयात्रा आयोजना गरिएको बागेश्वरी मन्दिरका महन्त चन्द्रनाथ योगीले बताउनुभयो ।

जिल्ला प्रशासन कार्यालय बाँकेमा सोमबार भएको सर्वदलीय तथा सर्वपक्षीय बैठकले धार्मिक तथा सामाजिक सद्भाव प्रगाढ बनाउन पदयात्रामा सहभागी हुन सबैलाई अपिल गर्ने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विपिन आचार्यले बताउनुभयो ।

“सामाजिक सद्भावको नमूना सहर नेपालगञ्ज हरेक धार्मिक सम्प्रदाय, जातजाति, भाषाभाषी, वर्ण, लिङ्ग र समुदायको साझा चौतारी हो,” नेपालगञ्ज उद्योग वाणिज्य सङ्घका पूर्वअध्यक्ष कृष्णप्रसाद श्रेष्ठले भन्नुभयो, “नेपालगञ्जको शान्त सामाजिक सद्भाव र आपसी एकतामा खलल पु¥याउन खोज्नेविरुद्ध फेरि एकपटक नेपालगञ्जवासीले अभूतपूर्व एकता देखाउनुपर्ने अवस्था आएको छ ।”

तपाईको प्रतिक्रिया