काठमाडौं–कार्तिक । भारतीय राष्ट्रपति प्रणव मुखर्जीले राष्ट्रपति विद्यादेवी भण्डारी लगायतका विशिष्ट व्यक्तिसँग शिष्टाचार भेट गर्नुभएको छ ।
राष्ट्रपति विद्यादेवी भण्डारीको मैत्रीपूर्ण निमन्त्रणामा नेपालको तीन दिने राजकीय भ्रमणमा आउनुभएका भारतीय राष्ट्रपति मुखर्जी एयरपोर्टबाट समकक्षी भेटवार्ताका लागि सितल निवास पुग्नुभएको थियो । शितल निवासमा भएको शिष्टाचार भेटवार्तामा दुई देशको आपसी सम्बन्ध र सहयोग आदन प्रदानका बारे छलफल भएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
यसपछि, भारतीय राष्ट्रपति मुखर्जीले साँझ बौदस्थित होटल हायातमा उपराष्ट्रपति नन्दबहादुर पुन र प्रधानमन्त्री पुष्पकमल दाहालसँग शिष्टाचार भेट गर्नुभएको छ । भेटका क्रममा दुई देशको सम्बन्ध र अब गर्नुपर्ने आपसी सुधार तथा विकास साझेदारीका सम्बन्धमा छलफल भएको बताइएको छ । बुधबार साँझ सोल्टी होटलमा राष्ट्रपति भण्डारीले आयोजना गर्ने रात्रीभोजमा सहभागी हुनुभएका मुखर्जी बिहिबार काठमाडौंमा राजनीतिक भेटघाट र बिभिन्न कार्यक्रममा सहभागी हुने कार्यतालिका छ ।
शुक्रबार भारतीय राष्ट्रपति मुखर्जीले जनकपुर र पोखराको भ्रमण गर्नुहुनेछ । मुखर्जीलाई काठमाडौं र जनकपुरमा नागरिक अभिनन्दन गरिने तथा जनकपुरमा भारतीय राष्ट्रपति मुखर्जीले सम्बोधन गर्ने कार्यक्रम रहेको छ । पोखरा भ्रमण सकेर राष्ट्रपति मुखर्जी शुक्रवार साँझ नयाँदिल्ली प्रस्तान गर्नुहुनेछ ।