बैकुण्ठप्रसाद पौडेल, पोखरा–साउन । पर्यटकीय नगरी पोखराको मुख्य आकर्षण रूपमा रहेको फेवाताल अहिले जलकुम्भी झारको अतिक्रमणमा परेको छ ।
मानविय अतिक्रमण समेत बेला बेलामा व्यहोर्दै आएको यो तालमा अहिले ढकमक्क जलकुम्भी झार छ । बर्षायामसँगै पोखराको पर्यटकीय आकर्षणको केन्द्र फेवाताल जलकुम्भी झारले ढाकिनु नियमित जस्तो बनेको छ । हिउँदमा आफै हराउने र वर्षायाममा तालको सौन्दर्य नै बिगार्ने गरी जलकुम्भी प्रकोप बढिरहदा पनि व्यवस्थापनमा खासै ध्यान दिएको देखिन्न । साउन देखि भदौ सम्म अर्थात दुई महिना फेवाताल जलकुम्भी झारका लागि उपयुक्त स्थान बन्दै
आएको छ । झारले तालको सौन्दर्य बिगारेपछि अहिले पोखराका पर्यटन व्यवयायी, विभिन्न संघसंस्था, सरकारी तथा गैरसरकारी निकाय झार निकाल्ने र फाल्ने काममा सक्रिय बन्न थालेका छन् । तर सबैको सक्रियता एकै नासको नदेखिदा झारको प्रकोपबाट ताललाई मुक्त गर्न सकिएको छैन ।
जलकुम्भी कै कारण फेवातालको पानी धमिलिएको छ । झारले पुरै ताललाई ढपक्कै ढाकेको छ । झारले तालमा डुङ्गा सयर गर्दा समेत समस्या व्यहोर्नुपरेको फेवा डुङ्गा व्यवसायी बताउछन् । जलकुम्भी झार हटाउने बारे पोखरा उप महानगरपालिकाले सम्झौता गरपनि काम अघि नबढाउदा बर्षेनी समस्या दोहोरिएको स्थानीय बताउछन् ।
जलकुम्भी झार व्यबस्थापनका लागि जिल्ला विकास समिति, पोखरा उपमहानगरपालिकाले बर्षेनी बजेट विनियोजन गरेपनि ताल संरक्षणमा खासै तत्परता देखिएको छैन । स्थानीयका अनुसार फेवाताल जलकुम्भी झारले ढाकिन थालेको १० वर्ष भएको छ । यो क्रम कहिलेसम्म जारी रहन्छ ? स्थानीय प्रश्न गरिरहेका छन् ।