काठमाडौं–असार २८ । माओवादी केन्द्र बाहेकका सत्तारुढ दल तत्काल सरकार नछाड्ने निर्णय गर्दै आवश्यक सबै वैधानिक प्रक्रियाको सामना गर्न तयार देखिएका छन् ।
प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा मंगलबार साँझ बसेको सत्तारूढ दलको बैठकले राष्ट्रिय हितमा सबैलाई एकढिक्का हुन आह्वान गर्दै तत्काल राजीनामा नगर्न प्रधानमन्त्रीलाई सुझाब दिएको हो । बैठकपछि एमाले प्रमुख सचेतक भानुभक्त ढकालले माओवादी केन्द्रको वर्तमान सरकारलाई दिएको समर्थन फिर्ताको निर्णयले संविधान कार्यान्वयन र राजनीतिक स्थायीत्वमा समस्या पैदा गर्नेतर्फ सबै सचेत भएको जानकारी दिनुभयो । उहाँले सरकार आवश्यक सबै बैद्यानिक प्रक्रियाको सामना गर्न तयार रहेको पनि बताउनुभयो ।
मालेका महासचिव समेत रहनुभएका वर्तमान सरकारका उपप्रधानमन्त्री सीपी मैनाली सत्ता गठबन्धनसँग कुनै परामर्श नगरि माओवादी केन्द्रले समर्थन फिर्ता लिएर गल्ति गरेको भन्दै आगामी राजनीतिक परिस्थितिको मिलेर सामना गर्ने बताउनुभयो । जनमोर्चाका अध्यक्ष तथा उपप्रधानमन्त्री चित्रबहादुर केसीले पश्चिमको टार्गेटमा परेका माओवादी केन्द्रका अध्यक्षले कुनै पनि बेला यस्तो खेल खेल्न सक्नेमा आँफु विश्वस्थ रहेको भन्दै अहिलेको निर्णयले राष्ट्रवादी शक्तिबीच ध्रुविकरण र देशमा अस्थिरता बढाउने आशंका व्यक्त गर्नुभएको थियो ।