मुस्ताङ–जेठ ८ । प्रतिकूल मौसमका कारण मुस्ताङमा यस वर्षको स्याउ उत्पादन घट्ने भएको छ । यस वर्ष हिउँदको समयमा देखापरेको प्रतिकुल मौसमका कारण स्याउ उत्पादन घट्ने देखिएको हो ।
हिउँदको समयमा हिँउ नपर्नु, पछि बढी हिँउ पर्नु, पानी नपरी तापक्रम बढ्नु तथा किसान आफैले पनि मलजल र स्याउका बोट काँटछाँटमा ध्यान नदिदा स्याउका बगैंचामा निकै पातला दाना लागेको जिल्ला कृषि विकास कार्यालय मुस्ताङले जनाएको छ । दुई तीन फिट बाक्लो हिउँसँगै बढेको चिसोले स्याउका बोट कठ्याग्रिएपछि मात्रै स्याउको फूलफूल्ने तथा दाना लाग्नुपर्नेमा यो बर्ष प्रतिकुल मौसमका कारण कम फल लागेको बताइएको छ ।
पाकलिङ र चिमाङका केही बगैँचामा ‘जिजिया मथ’ नामक रोग देखापरेका कारण त्यस क्षेत्रका स्याउका बोट सबै सखाप भएको जिल्ला कृषि विकास कार्यालयले जानकारी दिएको छ । मुस्ताङका किसानले गत वर्ष ३५०० मेट्रिक टन स्याउ उत्पादन गरेकोमा बिक्रीबाट ४० करोड बढी आम्दानी गरेका थिए ।