अन्तर्राष्ट्रिय श्रमिक दिवस, विश्वभर मनाइँदै

काठमाडौ–बैशाख १९ । १२७ औँ अन्तर्राष्ट्रिय श्रमिक दिवस अर्थात् मे दिवस आइतबार नेपाल लगायत विश्वभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ ।

सन् १८८६ मा अमेरिकाको सिकागोमा आठ घन्टा काम, आठ घन्टा मनोरञ्जन र आठ घन्टा आराम भन्ने नारासहित सुरु भएको मजदुर आन्दोलनको सम्झनामा विश्वभर यो दिवस मनाउन थालिएको हो । सन् १८८९ मा फ्रान्सको पेरिसमा सम्पन्न विश्वका श्रम सङ्गठन एवम् श्रमिक नेताको बैठकले मे–१ लाई विश्व श्रमिक दिवसका रुपमा विश्वभर मनाउने निर्णय गरेको थियो । सन् १८९० देखि सुरु भएको यो दिवस हरेक वर्ष अङ्ग्रेजी महिनाको मे १ तारिखका दिन मनाउदै आइएको छ । विश्वका मजदुरले यो दिनलाई ठूलो पर्वका रुपमा आफ्ना हकअधिकारको सुनिश्चितताको माग गर्दै सरकार र रोजगारदातालाई दबाब दिने उद्देश्य सहित मनाउने गर्छन ।

नेपालमा पनि विभिन्न मजदुर संघसङ्गठनले विभिन्न कार्यक्रम गरी यो दिवस मनाउँदै आएका छन् । नेपालमा पनि २००७ सालमा विराटनगरमा भएको मजदुर आन्दोलनसँगै यो दिवस मनाउन सुरु गरिएको बताइन्छ । मजदुरको उत्सबका रुपमा आज सरकारले सार्वजनिक बिदा दिएको छ । श्रम दिवशको अवसर पारेर श्रम तथा रोजगारमन्त्री दीपक बोहराले श्रमिकको पक्षमा विश्वमा प्रचलित हकअधिकारको संरक्षण र उनीहरुको सामाजिक स्वामित्व सिर्जना गर्न नेपाल सरकार सँधै प्रतिबद्ध रहेको भन्दै मर्यादित भएर आ–आफ्नो क्षेत्रमा योगदान गर्न आह्वान गर्नुभएको छ ।

मे दिवसको अवशरमा राष्ट्रपति, प्रधानमन्त्री दलका नेता लगायतले समेत मजदुरको हक अधिकारको पक्षमा सुभकामना शन्देश जारी गरेका छन् ।

तपाईको प्रतिक्रिया