काठमाडौं–चैत । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले सरकारविरुद्ध सडक आन्दोलनको थालनी गरेको छ । महंगी र कालोबजारीका बिरुद्ध आन्दोलन थाल्न भ्रातृ संघ/संस्थालाई निर्देशन दिएर कांग्रेसले आन्दोलनको थालनी गरेको हो ।
जनताले व्यहोरेको अभाव र समस्या तथा भूकम्प पीडितलाई राहत दिन भइरहेको ढिलाईलाई एजेण्डा बनाएर नेपाल महिला संघ, नेपाल तरुण दल र नेपाल विद्यार्थी संघलाई कडा आन्दोलनको तयारी गर्न भनिएको कांग्रेस श्रोतको दाबी छ । माउ पार्टीको आदेश मान्दै विभिन्न भ्रातृ संगठनले आन्दोलनको तयारीका विषयमा मंगलबार अन्तर्क्रिया गरेपछि छिट्टै आन्दोलन उठान हुने देखिएको छ ।
अन्तर्क्रियामा राष्ट्रिय पुनर्निमाण प्राधिकरणका पूर्वप्रमुख कार्यकारी अधिकृत प्रा.डा. गोविन्दराज पोखरेलले सरकारको काम गराइ जनतालाई घर दिने सम्पदाहरुको पुनर्निमाण छिटो हुने खालको नभएको भन्दै सचेतना आवश्यक रहेको बताएका थिए । उनले प्रतिपक्षी दल जनताको पक्षमा रहनुपर्ने भन्दै दवाबमूलक कार्यक्रम तत्काल थाल्न सुझाब दिए ।
यस्तै, नेपाल विद्यार्थी संघका अध्यक्ष रञ्जित कर्णले नाकाबन्दी खुलेर मागभन्दा बढी परिणाममा पेट्रोलीयम पदार्थ आएपनि उपभोक्ताले कालोबजारी र महंगीबाट छुटकारा नपाएको भन्दै आफूहरु छिट्टै सरकारविरुद्ध सडकमा ओर्लिने धारणा राखेका थिए ।
अन्तक्रिर्यामा सहभागी नेपाल महिला संघ, नेपाल तरुण दल लगायतमा आबद्ध नेताहरुले कालोबजारीलाई सरकार आफैले प्रोत्साहन दिएको भन्दै जनतालाई राहत दिन आन्दोलनको विकल्प नहुने बताएका थिए ।