काठमाडौंको सडक विस्तारको काम अझै अलपत्र

काठमाडौं– काठमाडौंमा सडक विस्तारको काम अझै अलपत्र छ । काडमाडौं उपत्यकाको सडक विस्तारको काम तत्कालीन नगर प्रमुख केशव स्थापीत्को पालामा सन् २००२ मा सुरु भएको थियो । त्यसवेला काठमाडौमा हुन लागेको ११ औं सार्क शिखर सम्मेलनका लागि भन्दै स्थापीत्ले रातारात उपत्यकामा विदेशी पाहुना ओहोर दोहोर गर्ने सबै क्षेत्रको सडकमा डोजर लगाएका थिए । हालको माइतिघर मण्डला रहेको स्थानको सिंगो बस्ति सोही समयमा भत्काएर बगैचा बनाइएको हो ।

तर स्थापीत्ले त्यस लगत्तै सुरु गरेको त्रिपुरेश्वर–कलंकी सडक विस्तारको काम भने १६ वर्षसम्म पनि पुरा हुनसकेको छैन । जताततै विस्तार आयोजना प्रभावित्ले मुद्धा हालेका छन् । यसपछि डाक्टर बाबुराम भट्टराई प्रधानमन्त्री बन्दा उपत्यकामा सडक बिस्तारको अभियान नै थालियो । तर भट्टराईको पालामा सुरु भएको यो अभियानले पनि पूर्णता पाउन सकेको छैन । यति मात्र हैन तीन वर्षदेखि काठमाडौ भित्रिने प्रमुख नाका कलंकी नागढुङ्गा सडक खण्ड विस्तार योजना स्थानियको अवरोधकै कारण अलपत्र छ । चावहिलबाट जोरपाटी, बागमती हँुदै साखँु पुग्ने सडक विस्तारको कामको प्रगति पनि उस्तै छ । लगनखेल सातदोबाटो सडक विस्तारको काममा पनि स्थानीय नै बाधक बनेका छन् ।

त्यसैगरी कर्मनाशा खोलादेखि गोदावरी कुण्डसम्मको सडकविस्तार प्रगति पनि शुन्य छ । ललित्पुर कै ढोलाहिटीबाट सुनाकोठी हुदै लेले सरस्वतीकुण्ड पुग्ने बाटोको प्रगति पनि शुन्य नै छ । त्यसैगरी जोरपाटी–सुन्दरीजल सडक, पेप्सीकोला–सल्लाघारी सडक, चक्रपथबाट ज्ञानज्योती हुदै गणेश विद्वत् मार्गसम्मको सडक विस्तार योजनाको काम पनि बन्द छ । नख्खुखोलाबाट भैसेपाटी हुदै बुङ्मती पुग्ने सडक पनि मुद्धामामिलाका कारण रोकीएको छ । निर्माण भईरहेको ईमाडोल गोदावरी खोला, लामाटार सडक विस्तार योजनाले पनि गति लिएको छैन । यस बाहेक काठमाडौंका भित्री शहर विस्तारको अवस्था पनि अस्तव्यस्त नै छन् ।

तपाईको प्रतिक्रिया