रोकिएन ट्याक्सीको ठगी, सर्वसाधारण सधै मारमा

काठमाडौं– ट्याक्सी चालकले यात्रुलाइ ठग्ने गरेको गुनासो बारम्बार दोहोरिएको छ । यात्रुको गुनसो सम्बोधन गर्ने भन्दै नियमनकारी निकायले विभिन्न अभियान चलाउने गरेका छन् । तर विडम्बना यात्रु ठगी क्रम भने घटेको छैन बरु बढेको छ । यसैपनि काठमाडौं उपत्यकामा व्यस्त जीवनशैली बिताइरहेकाहरु प्रायजसो हतारमै देखिन्छन् । यही यात्रुको व्यस्तताको प्रत्यक्ष फाईदा उठाउँदै आएका छन् ट्याक्सी व्यवसायीहरुले । यो या त्यो विभिन्न बहानामा ट्याक्सी चालकबाट यात्रु ठगिने क्रम अहिले पनि रोकिएको छैन । त्यसो त ठगि नियन्त्रणका लागि सरकारले पुस १७ गते बाट ट्याक्सीमा बिलिङ प्रणाली अनिवार्य गरेको थियो ।

सोहि अनुसार गुणस्तर तथा नापतौल विभागले ट्याक्सीमा कम्प्युटर बिलिङ प्रणाली जडान गर्ने थालेको दुई महिना वित्यो । तरपनि जडान गर्न आउने ट्याक्सीको संख्यामा कति पनि सुधार आएको छैन । विभागको तालिका अनुसार हरेक हप्तामा करिब पाँच सय ट्याक्सीमा बिलिङ प्रणाली जडान गर्ने भनिएको छ । तर, ट्याक्सी चालकको अटेरीपन र जिम्मेवार निकायको लाचारीपनकाका कारण दुई महिनामा जम्मा ९ सय ट्याक्सीमा मात्र बिलिङ मेसिन जडान गरिएको छ ।

अहिले उपत्यकामा साढे ९ हजार ट्याक्सी छन् । विभागको तालिका अनुसार हप्तामा पाँच सयका हिसाबले दुई महिनामा कम्तिमा चार हजार ट्याक्सीले बिलिङ जडान गरिसक्नुपर्ने थियो । तर, यो संख्या ९ सय मै सिमिति छ । हसरकारले ट्याक्सीमा बिलिङ जडानलाइ प्राथमिकता राखेको बताएपनि यात्रुको समस्या भने विसबाट उन्नाइस भएको छैन । जसले बिलिङ जडान गरेका छन, ती टयाक्सी त झन सहजै मिटरमा जान मान्दैनन । बरु नजाने भन्न समेत पछि पर्दैनन चालकहरु ।  अहिले यातायात व्यवस्था कार्यालयले दुईसय मिटरसम्म ट्याक्सीमा यात्रा गर्दा सात रुपियाँ २० पैसा भाडादर तोकेको छ ।  तर काठमाडौमा ट्याक्सी व्यवसायीले यात्रुसंग कहिले सिधै मोलमोलाई गरेर त कहिले अर्थिङ गरेर बढि भाडा उठाउने गरेका छन् ।

सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को दफा १६४ मा बढी भाडा लिने सवारी साधनका लागि कारवाहीको व्यवस्था गरिएको छ । उक्त व्यवस्थामा यात्रु ठग्ने ट्याक्सीलाई सरकारले एक हजार देखी ५ हजारसम्मको जरीवाना तोकेको छ । कानुन अनुसार केही चालकहरु कारवाहीको दायरामा पनि आएका छन् । तरपनि ठगिने क्रम भने रोकिएको छैन ।  नियमनकारी निकायको  अभियान सँगै ट्याक्सी चालकहरुले यात्रु ठग्न नयाँ नयाँ प्रविधि प्रयोग गर्न थालेका छन् । यस तर्फ पनि प्रहरीको ध्यान जानुपर्छ ।

तपाईको प्रतिक्रिया