ज्येष्ठ नागरिक ग्राम’ उद्घाटन समारोह सम्पन्न

टीकादास श्रेष्ठ–काठमाडौं । जे.पी. प्रतिष्ठान (मैत्रीसेवाश्रम) ले नेपालमा पहिलो पटक नविनतम सोच र अवधारणा अनुरूप ज्येष्ठ नागरिकका लागि काठमाडौ जिल्लाको शंखरापुर नगरपालिका वडानं. ४ लप्सेफेदीमा सार्वजनिक निजी साझेदारी कार्यक्रम अन्तरगत पहिलो चरणमा निर्माण गरिएका ३० वटा भवन तथा कुटीहरूको उद्घाटन समारोह फागुन ३ गतेदेखि ११ गतेसम्म ‘मातापिता भक्ति भूमि पुजन गीता ज्ञानमहायज्ञ’ को आयोजना गरी सम्पन्न गरेको छ ।
हरेक ज्येष्ठ नागरिकहरूको अन्तिम अवस्था दु:खदायी हुने भएकाले सुखद बनाई ज्येष्ठ नागरिकमा भएको ज्ञान सीप अनुभवको सम्मान र सदुपयोग गर्ने उद्देश्यले निर्माण गर्न थालिएको ज्येष्ठ नागरिक ग्राम निर्माण गर्ने क्रममा नेपाली सेना कल्याणकारी कोषबाट १० वटा, जे.पी. प्रतिष्ठानबाट ११ वटा र नेपाल सरकार र निजी साझेदारी योजनामार्फत् ९ वटा गरी जम्मा ३० वटा २०० वर्गफीटदेखी ९००० वर्गफीटको दुईतले, तीनतले र साँढे चार तले सम्माका भवनहरू निर्माण गरिएको महायज्ञ मूल समारोह समितिले जनाएको छ ।
फागुन ३ गते सम्माननीय राष्ट्रपति विद्यादेवी भण्डारीले नेपाल सरकार, महिला बालबालिका तथा समाज कल्याण मन्त्रालयको अनुदानमा नेता गणेशमान सिंहको सम्मानमा निर्माण गरिएको ‘जीएम् जेरियाट्रिक भवन’ को उद्घाटन गरी प्रारम्भ गरेको उदघाटन समारोह एक हप्तासम्म चल्यो । ३० वटा भवनहरूको उद्घाटन गर्न प्रतिष्ठानले हरेक दिन राष्ट्रका उच्च पदस्त नेतादेखि राष्ट्रिय तथा अन्तार्राष्ट्रिय रूपमा महत्वपूर्ण योगदान पुर्‍याउँदै आएका व्यक्तिहरूलाई आमन्त्रण गरेको थियो । नेपाली सेना कल्याणकारी कोषको सहयोगमा जे.पी. प्रतिष्ठानद्वारा निर्माण गरिएको पशुपति कुटी, भद्रकाली कुटी, गणेश कुटी, मनकामना कुटी, शिव कुटी, बंगलामुखी कुटी, भैरव कुटी, रिपुमर्दिनी कुटी, बुढानिलकण्ठ कुटी, दक्षिणकाली कुटी एवम् यस आसपासमा बनेको भौतिक पुर्वाधारहरूको उद्घाटन प्रधान सेनापति राजेन्द्र क्षेत्रीले गर्नुभएको छ ।
विश्वको सर्वोच्च शिखर सगरमाथाको नाममा प्रतिष्ठानद्वारा निर्मत ‘सगरमाथा कुटी’ को उद्घाटन गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डा. रामवरण यादवले गर्नुको साथै आफू एक चिकित्सक भएकाले प्रतिष्ठानले सञ्चालनमा ल्याउन लागेको जेरियाट्रिक अस्पताललाई सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्त गर्नुभयो । त्यस्तै नेपाल सरकार, स्वास्थ्य मन्त्रालयको अनुदान सहयोगमा निर्मित बज्रयोगिनी देवीको सम्मानमा निर्माण गरिएको ‘बज्रयोगिनी कुटी’ को स्वास्थ्य मन्त्री गगनकुमार थापाले उद्घाटन गर्नुभयो ।

गिरीजाप्रसाद कोइरालाको स्मृतिमा निर्माण गरिएको ‘जीपी कुटी’ को काग्रेस महामन्त्री डा शशंक कोइराला, पूर्व प्रधानमन्त्री मनमोहन अधिकारीको स्मृतिमा निर्मित ‘मनमोहन कुटी’ को पूर्व प्रधानमन्त्री तथा एमालेका वरिष्ठ नेता झलनाथ खनाल, राष्ट्रिय विभूति भृकुटीको सम्मानमा निर्मित ‘भृकुटी कुटी’ को महिला बालबालिका तथा समाज कल्याण मन्त्री कुमार खड्का, प्रतिष्ठानका संस्थापक मित्रसेन दाहाल र उहाँका दाजुभाईका सम्पूर्ण परिवारका तर्फबाट मातापिता डम्बरकुमारी/जयप्रसाद दाहालको स्मृतिमा निर्मित ‘मातापिता कुटी’ को पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले उद्घाटन गर्नुभएको छ ।
प्रतिष्ठानले मदन भण्डारीको स्मृतिमा निर्माण गरेको ‘मदन कुटी’ को पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष के.पी. शर्मा वली, राष्ट्रिय विभूति अरनिकोको स्मृतिमा ‘अरनिको कुटी’ को पूर्व प्रधानमन्त्री तथा नयाँ शक्ति नेपालका संयोजक डा. बाबुराम भट्टराई, पूर्व प्रधानमन्त्री कृष्णप्रसाद भट्टराईको स्मृतिमा ‘सन्त नेता कुटी’ को पूर्व सभामुख एवम् नेपाली कांग्रेसका वरिष्ठ नेता मा. रामचन्द्र पौडेल, पूर्वप्रधानमन्त्री शुशिल कोइरालाको स्मृतिमा निर्मित ‘शुशिल कुटी’ को पूर्व अर्थमन्त्री तथा नेपाली कांग्रेसका नेता मा. महेश आचार्य, शान्तिका प्रतिमुर्ति भगवान गौतम बुद्धको सम्झनामा निर्मित ‘सिद्धार्थ कुटी’ को वरिष्ठ समाजसेवी तथा श्री गुरु नानकदेव सेवा समिति क्यालिफोर्निया, अमेरिकाका अध्यक्ष मन्जित सिंह खाल्सा, मैत्रीसेवाश्रमको शिरमा रहेको प्रसिद्ध कुण्डको नाममा निर्मित ‘मणीचुड कुटी’ को उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधी, वाल्मिकि ऋषिको सम्मानमा निर्मित ‘वाल्मिकि कुटी’ को पूर्व अर्थमन्त्री तथा साहित्यकार शंकर प्रसाद कोइराला, पार्वतीदेविको सम्मानमा निर्मित ‘पार्वती कुटी’ को पूर्व उपप्रधान एवम् महिला बालबालिका तथा समाज कल्याणमन्त्री सी.पी. मैनाली, आश्रमको नजिकै रहेको शिवपुरी डाँडाको नाममा निर्मित ‘शिवपुरी कुटी’ को शिक्षासेवी तथा नेपाली कांग्रेसका सांसद दीपक कुइँकेल, विभिन्न दाताहरूको सहयोगमा निर्मित ‘मैत्रीसेवाश्रम (ज्येष्ठ नागरिक ग्राम) प्रवेशद्वार’ को मृगेन्द्र सम्झना चिकित्सा गुठीका संस्थापक अध्यक्ष एवम् समाजसेवी चिकित्सक डा. मृगेन्द्रराज पाण्डेले उद्घाटन गर्नुभयो ।


नेपाली कांग्रेसका पूर्वमहामन्त्री एमव् पूर्वमन्त्री महेन्द्रनारायण निधिको सम्मानमा निर्मित ‘निधि कुटी’ को अग्रज ज्येष्ठ नागरिकहरू एवम् राष्ट्रिय ज्येष्ठ नागरिक महासंघका अध्यक्ष डा. गौशंकर लालदास, संस्कृतविद एवम् शताब्दी पुरुष सत्य मोहन जोशी, वरिष्ठ समाजसेवी सावित्री थापा, इमेज च्यानलका उपाध्यक्ष श्रीमती इन्दिरा मानन्धर आदि व्यक्तिहरूले सामूहिक रूपमा उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रमको पहिलो दिन प्रतिष्ठानले लप्सेफेदी आसपासका ७५ वर्ष उमेर पार गरेका सय जना ज्येष्ठ नागरिकलाई रु एक हाजार नगद, दोसल्ला तथा सम्मानपत्रबाट सम्मानित गरेर उद्घाटन समारोहको प्रारम्भ गरेको थियो । प्रतिष्ठानले फागुन ३ गतेदेखि सञ्चलन गरेको उद्घाटन समारोह तथा मातापिता भक्ति भूमि पुजन् गीता ज्ञानमहायज्ञ गत बुधवार सकिएको छ ।
प्रमुख वाचक चैतन्यकृष्णले वाचन गर्नुभएको सो महायज्ञमा मातापिता र जन्मभूमिको भक्ति भाव भल्कने चेतनामूलक संगीतमय वाचन प्रचार प्रशार गर्नुको साथै गीताज्ञानको प्रवचन गरी पुन: दोस्रो चरणको परियोजना सुरुवात गरिएको जानकारी प्रतिष्ठानका संस्थापक अध्यक्ष मित्रसेन दाहालले गराउनुभयो । साथै उहाँले पहिलो चरणमा उद्घाटन गर्न र भौतिक संरचना निर्माणमा सहयोग पुर्‍याउने महानुभावहरूलाई सम्मान गर्ने कार्यक्रम अझ बाँकी रहेको बताउनुहँुदै अध्यक्ष दाहालले पहिलो चरणमा निर्माण गरिएका संरचनाहरू पुरातात्विक नेपाली सम्पदामा आधारित भएको र दोस्रो चरणमा निर्माण गरिने संरचनाहरू पनि पुरातात्विक सम्पदामा सुचिकृत गर्ने गरी नै निर्माण गरिने बताउनुभयो ।
सस्थापक अध्यक्ष दाहालले सार्वजनिक निजी साझेदारी कार्यक्रममा निर्मित ३० वटा भवनहरूको निर्माण कार्य सम्पन्न गर्न धेरै ठूलो संघर्ष गर्नुपरेको बताउनुहुँदै प्रतिष्ठानको रजत महोत्सवका समयमा सबै आरोह अबरोहलाई पुस्तकमार्फत सबैलाई जानकारी गराउने बताउनुभएको छ । अध्यक्ष दाहालले ज्येष्ठ नागरिकको सेवामा समर्पित ज्येष्ठ नागरिक ग्रामको मध्यमबाट उनीहरूमा भएको ज्ञान सीप क्षमता र अनुभवको सम्मान गर्ने कार्य सम्पन्न गर्नका लागि सामुहिक प्रयासको जरुरत पर्ने भएकाले यस पुनित कार्यमा सबै पक्षको सहयोग र सहभागिताको अपेक्षा राख्नुभएको छ ।

ज्येष्ठ नागरिक ग्राम उद्घाटनका लागि सुरु गरेको ‘मातापिता भक्ति भूमि पुजन गीता ज्ञानमहायज्ञ’ मा उपस्थित भक्तजनहरूका लागि भोजनको व्यवस्था अमेरिकाको क्यालीफोर्नियास्तिथ गुरु नानकदेव सोसाइटीले महायज्ञ अवधिभर निशुल्क रूपमा प्रदान गराएको थियो । उद्घाटन समारोहमा गुरु नानकदेव सोसाइटीका अध्यक्ष तथा महायज्ञ अन्तर्राष्ट्रिय समन्वय समितिका संयोजक मन्जित सिंह खाल्साले नेपाल र शीख धर्म गुरुको सम्बन्ध आज मात्र नभएको बताउनुहुँदै आजभन्दा ५०० वर्ष पहिला ठूलो अनिकालबाट जनतालाई मुक्त गराउन राजा जगतजंग मल्लले गुरु नानकलाई बोलाएको प्रशंग निकाल्नुुभएको थियो । साथै उहाँले समारोहमा उपस्थित नेताहरूलाई गुरु नानकको जन्मजयन्तीमा विदा दिएर शीख सम्प्रदायलाई पनि समानुपातिक रूपमा अधिकार दिन आग्रह गर्नुभएको छ ।
प्रतिष्ठानका अध्यक्ष मित्रसेन दाहालको नेतृत्वमा ४ वर्ष अघि सुरु भएको ज्येष्ठ नागरिक ग्राम निर्माण कार्यले अहिले पहिलो चरण पार गरीसकेको छ । प्रतिष्ठानले पहिलो चरणमा सम्पन्न परियोजनाको उदघाटन गर्दै महायज्ञमार्फत दोस्रो परियोजनाको पनि थालनी गर्ने र त्यसलाई पनि सफल पारिदिन सम्पूर्ण श्रद्धालु भक्तजन तथा दाताहरू समक्ष अनुरोध गरेको छ । पहिलो चरणको निर्माण कार्य पूरा गर्न करिब १८ कारोड लगानी गरिसकेको प्रतिष्ठानले लक्ष्य अनुसार ज्येष्ठ नागरिक ग्राम निर्माण कार्य सम्पन्न गर्न पाँच अर्ब रूपैयाँ लाग्ने लागत अनुमान वजेट समेत सार्वजनिक गरेको छ ।
सरकारी नीति नियम तथा योजना निर्माणमा समेत प्रेरणा दिन सफल यस प्रतिष्ठानले निर्माण गरेको आश्रममा सशुल्क र निशुल्क रूपमा ज्येष्ठ नागरिकहरूलाई राख्ने योजना बनाएको छ । असाहय, अशक्त, छोराछोरी नभएका ज्येष्ठ नागरिकहरूलाई प्रतिष्ठानले निशुल्क रूपमा राख्ने जनाएको छ । यस अन्तरगत राष्ट्रलाई महत्वपूर्ण योगदान पुर्‍याएका ज्येष्ठ नागरिक जो आर्थिक रूपमा कमजोर छन् भने उनीहरूलाई पनि राखिने छ । प्रतिष्ठानले निशुल्क रूपमा राख्नको लागि कुल आश्रममा बस्ने ज्येष्ठ नागरिक सख्याको २५ प्रतिशतका दरले निशुल्क राख्ने र बाँकी ७५ प्रतिशतलाई भने सशुल्क रूपमा राख्ने योजना बनाएको छ ।

तपाईको प्रतिक्रिया