महिला क्रिकेटको उपाधी एपीएफलाई

काठमाडौं–साउन । विभागीय टोली एपीएफले राष्ट्रिय महिला छनोट च्याम्पियनसिप क्रिकेट प्रतियोगिताको उपाधि जितेको छ ।

woman cricketकीर्तिपुरस्थित टीयू क्रिकेट मैदानमा आज भएको फाइनल खेलमा पूर्वाञ्चल विकास क्षेत्रलाई १० रनले पराजित गर्दै एपीएफले उपाधि जितेको हो । वर्षाका कारण १० ओभरमा खेल छोट्याइएको थियो । टस हारेर ब्याटिङ गरेको एपीएफले निर्धारित १० ओभरमा एक विकेटको क्षतिमा ६४ रन बनाएको थियो । ओपनर ज्योती पाण्डेलाई ८ रनमा गुमाएको एपीएफका लागि सीता रानामगर र सरिता मगरले सम्मानजनक स्कोरमा पुर्‍याएका थिए । सीताले नटआउट २९ र सरिताले नटआउट २२ रन बनाएका थिए ।

६५ रनको चुनौती पछ्याउदै ब्याटिङ गरेको पूर्वाञ्चलले निर्धारित १० ओभरमा ५ विकेटको क्षतिमा ५४ रन मात्र बनाउन सक्यो । पूर्वाञ्चलका लागि कप्तान रुविना क्षेत्रीले नटआउट १६ र रश्मी शर्माले १२ रनको योगदान दिएपनि खेल जिताउन भने सकेनन् । विजेता टोली एपीएफले नगद एक लाखसहित ट्रफि र मेडल हात पारेको छ ।

यस्तै, उपविजेता पूर्वाञ्चलले नगद ५० हजारसहित ट्रफि र मेडल हात पार्न सफल भयो । त्यस्तै, प्लेयर अफ दि सिरिज बनेकी सरिता मगरले १० हजार नगद पुरस्कार प्राप्त गरेकी छिन् । बेष्ट ब्याट्सओमन लक्ष्मी चौधरी, बेष्ट बलर सन्तोषी चौधरी र बेष्ट फिल्डर सब्नम राई बनेकी छिन् । उनीहरूले जनही ५ हजार नगद प्राप्त गरे ।

अक्टोबर ९–१५ सम्म हङकङमा हुने आईसीसी महिला विश्व कप छनौटमा भाग लिन जाने नेपाली टोलीको टुंगो लगाउनका लागि यो प्रतियोगिता गरिएको हो ।

तपाईको प्रतिक्रिया