राप्तीमा बाढीको त्रास, ६ गाविस उच्च जोखिममा

बाँके–असार २१ । दुई दिनदेखि जारी रहेको वर्षाका कारण राप्ती नदीमा पानीको बहाव बढेर  खतराको संकेत चिन्ह पार गरेको छ । बाढीका कारण जोखिम बढ्नसक्ने भएपछि नदी किनारका ६ गाविसमा खतराको संकेतस्वरुप साइरन बजाइएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।

rapti badhiअहिले राप्तीको पानीको सतह ५ दशमलव २ मिटर भन्दा माथी पगेको जिल्ला प्रहरी कार्यालय बाँकेले जानकारी दिएको छ । पानीको सतह बढेपछि राप्ती किनारका होलिया, बेतहनी, फत्तेपुर, कम्दी, गंगापुर, मटेहिया लगायतका गविस डुबानको खतरामा पर्ने भएपछि सचेतना र सुरक्षा सतर्कता बढाइएको बाँके प्रहरी प्रमुख टेकप्रसाद राईले नेपाल परिक्रमालाई जानकारी दिनुभएको छ । कुसुममा रहेको बाढी मापन केन्द्रका अनुसार मंगलबार बिहानदेखि राप्ती नदीको पानीको सतह क्रमशः बढिरहेको छ ।

राप्तीमा पानीको सतह निरन्तर बढेपछि जिल्ला दैविप्रकोप उद्दार समितिको आकस्मिक बैठक नै बसेर बाढीले प्रभाव पार्न सक्ने स्थानमा सूचना प्रवाह गर्न र प्रभावितलाई सुरक्षित स्थानमा सार्न निर्देशन दिएको छ । संभावित क्षति न्युनिकरणका लागि भन्दै सुरक्षाकर्मीलाई तयारी अवस्थामा राखिएको बताइएको छ । यस्तै, सेनाको रुद्रध्वज गण समेत बाढीबाट जोगिन तथा बाढी आइहालेमा उद्धार गर्न तयारी अवस्थामा रहेको बताइएको छ । सशस्त्र प्रहरी बल पनि तयारी अवस्थामा रहेको छ ।

जिल्ला विकास समिति बाँके र जिल्ला रेडक्रस कार्यालय बाँकेले आपतकालिन खाद्यान्न भण्डारणका साथै क्षति न्यूनिकरणका लागि सचेतना कार्यक्रम सञ्चालन गरिरहेका छन् ।

तपाईको प्रतिक्रिया