मनपरि भाडा लिने ट्याक्सी प्रहरी नियन्त्रणमा

काठमाडौं–बैशाख ८ । ट्राफिक प्रहरीले काठमाडौं उपत्यकामा मनपरी भाडा मागी यात्रुलाई ठगी गर्ने ३७ भाडाका ट्याक्सीलाई नियन्त्रणमा लिएको छ । महानगरीय ट्राफिक महाशाखामा आज पत्रकार सम्मेलनगरी प्रहरीले यात्रुहरुले ट्याक्सी चढेर गन्तव्य जान चाहँदा मिटरमा नगई यात्रुवाट मनपरी भाडा असुलेर ठगी गर्ने ३७ ओटा ट्याक्सीलाई नियन्त्रणमा लिई कारवाही प्रक्रिया अगाडी बढाएको जानकारी दिएको हो । प्रहरीले मंगलबार काठमाडौ उपत्यकाभित्रका अस्पताल,विमानस्थल लगायतका विभिन्न स्थानवाट ट्याक्सीलाई नियन्त्रणमा लिएको हो । ३७ मध्ये ४ वटा ट्याक्सीहरुको मिटर सिल तोडिएको र बिगारिएको अवस्थामा पाइएकोले कारवाहीको लागि नापतौल विभाग बालाजु पठाइएको प्रहरीले जानकारी दिएको छ । यसैबीच,ट्राफिक महाशाखाले आज मोटरसाईकल चोरी गरी फरार रहेका एक व्यक्तिलाई पक्राउ गरि सार्वजनिक गरेको छ । सुुर्खेत घर भई हाल किर्तिपुर डेरा गरी बस्ने वर्ष २१ का रोशन ओझालाई हिजो काठमाडौको मैतीदेवीवाट चारी गरेको मोटरसाइकल सहित पक्राउ गरेको हो । उनले गत माघ १२ गते पोखराको शान्तनगर,जिरोकिलोमा गई मोटरसाइकल धनीलाई भेटर टेष्ट ड्राइभ गर्ने बहानामा मोटरसाइकल लिएर फरार भएका थिए ।

तपाईको प्रतिक्रिया